काठमाडौँ, १२ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वाइडबडी काण्ड छानबिन गर्न संसद्बाट प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौती दिएका छन् ।
प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै आफूमाथि वाइडबडी काण्ड भ्रष्टाचार गरेको आरोप लागेको भन्दै छानबिन गर्न आग्रह गरे ।
‘वाइडबडीदेखि अन्यमा मलाई जोडियो । यसमा कसले सम्झौता गर्यो कसले भुक्तानी दियो । मैले त सम्झौता भएपछि अन्तिम किस्ता मात्र दिएको हुँ,’ उनले चुनौती दिँदै भने, ‘यसमा पनि भ्रष्टाचार भएको लाग्छ भने छानबिन गर्नुस्। को–को कसरी संलग्न छन् ।’
उनले ३३ किलो सुनकाण्ड पनि अरुले गरेको र आफूले छानबिन गरेको दाबी गरे ।
‘३३ किलो सुनकाण्ड मैले छानबिन गराएको हुँ । सुनको कारोबारी गिरफ्तार हुन थालेपछि विरोध भएको हो,’ उनले भने, “सुन तस्करीका सबै बाटो बन्द भयो अनि आलोचना सुरु भयो । त्यस्तै, बालुवाटार काण्ड भएकै थिए मेरो सरकारले छानबिन गरेर मुद्दा दायर गरेको हो ।’
कसको निर्णयबाट बालुवाटारको सरकारी जग्गा व्यक्तिको भयो भन्ने विषयमा छानबिन गर्न पनि उनले आग्रह गरे ।
आफूमाथि भ्रष्टाचार र अनियमितताको आरोप लगाइएको र रिजर्भ बैंकमा पैसा राखेको आरोपको जबाफ दिँदै ओलीले भने,‘मेरो र श्रीमतिको चलअचल सम्पत्ति राज्यको नाममा गरेको छु ।’ आफूले रिजर्भ बैंकमा पैसा नराखेको बताएका ओलीले भने,“एक विद्वानले मैले रिजर्भ बैंकमा पैसा राखेको भन्नुभयो । रिजर्भ बैंकले पनि सुनोस्, त्यो पैसा उनै आरोप लगाउने विद्वानको नाममा गरिदिए हुन्छ ।’
आफूमाथि भ्रष्टाचार र अनियमितताको आरोप लगाउनेलाई आफ्नो चलअचल सम्पत्ति राज्यको नाममा गर्न ओलीले चुनौती दिए ।