विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ

137

काठमाडौँ, ११ जेठ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी संगठनले आयल निगम घेराउ गरेका छन् ।

विद्यार्थी संगठनले पेट्रोल, ग्यासलगायत इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुधबार दुई घन्टा आयल निगम घेराउ गरेका हुन् ।

उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका थिए भने अनावश्यक रुपमा कर लगाएर सरकारले नै पेट्रोलियम पदार्थ मूल्य उच्च बनाएको आरोप लगाएका थिए ।

प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले जनताको चुलो बल्न नसक्ने अवस्था आएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिएर नागरिकको जनजीवन सामान्य बनाउन माग गरेका छन् ।

उनीहरुले मूल्यवृद्धि फिर्ता नभएसम्म प्रदर्शन जारी राख्ने चेतावनी दिएका छन् । अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले कुन दलको सरकार छ भन्ने हिसाव आफूहरुले नगर्ने भन्दै गरिब जनताको चुल्हो बल्न छाडेको कुरा महत्वपूर्ण भएको बताइन् ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले विद्यार्थीको दबावले नै मूल्यवृद्धि फिर्ता गराएरै छाड्ने बताए ।

निगमले पेट्रोल, डिजल र मट्टितेल प्रतिलिटर १० रुपैयाँ वृद्धि गरिएको थियो भने खाना पकाउने एलपी ग्याँसको मूल्य सिलिन्डरमा दुई सय रुपैयाँले बढाएको थियो ।

मूल्यवृद्धिसँगै एक लिटर पेट्रोलको १८० रुपैयाँ पुगेको छ भने मट्टितेल र डिजलको १६३ रुपैयाँ तथा प्रतिसिलिन्डर ग्याँसको मूल्य १८ सय रुपैयाँ तोकिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...