पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन अनेरास्ववियूको माग

266

काठमाडौँ । नेकपा (एमाले)को भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा उत्रिएको छ ।

अध्यक्ष सुनिता बरालले सोमबार विज्ञप्ति जारी गर्दै सरकारले हप्ता दिनमै पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा २० रुपैयाँ र ग्याँसमा प्रतिसिलिन्डर २०० रुपैयाँ बढाएकोप्रति आपत्ति प्रकट गरिन् ।

बरालले पेट्रोलको मूल्य प्रतिलिटर १८०, डिजेल र मट्टितेलको मूल्य १६३ र ग्याँसको मूल्य एक हजार ८०० कायम गरी सरकारले जनताको ढाड सेक्ने काम गरेको बताइन् ।

‘सरकारले हिजो (आइतबार) राति फेरि पनि स्थानीय तह निर्वाचनको मतदानको मसी सुक्न नपाउँदै मूल्यवृद्धिको उपहार जनतालाई दिएको छ, मूल्य समायोजन भन्ने बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने, तर घट्दा नघटाइ सरकार विभिन्न कर लगाएर राजश्व उठाएका कमाउन व्यस्त छ,’ बरालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

अनेराश्ववियूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले तमाम क्षेत्रको महँगी बढ्न गइ सेवाग्राही र सबै जनतामा यसको प्रत्यक्ष असर पर्ने भएकाले तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।

अध्यक्ष बरालले मूल्यवृद्धिविरुद्धको निर्णायक आन्दोलनमा सशक्त ढंगले उत्रन आह्वान गरेकी छन् ।

Share This:
सम्बन्धित खबर
Loading...