काठमाडौँ, ८ जेठ । अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले लिखित नेपालको समग्र अर्थतन्त्रका सबल र निर्बल पक्ष समेटेर तयार गरेको अर्थतन्त्रसम्बन्धी पुस्तक सार्वजनिक भएको छ ।
लेखक वाग्ले, कांग्रेस महामन्त्री गगन थापा, पत्रकार अमित ढकाल र अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य उषा झाले संयुक्त रूपमा अतृप्त अवसरः अनुकूल समयको असहज अर्थ–राजनीतिक विचार सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा लेखक वाग्लेले ओली सरकारले लिएका आर्थिक नीति, नेपालको अर्थतन्त्र, आयात–निर्यातको अवस्था, सरकारी खर्च प्रणाली, नेपालको कर प्रणाली, सबल अर्थतन्त्रको आयाम र कर प्रणालीका झन्झट, ०७४ को स्थानीय निर्वाचनलगायत विषयलाई पुस्तकमा मसिनो गरी समेटिएको बताए । उनले नेपालको अर्थतन्त्र धर्मराउन लागे पनि श्रीलंकाको जस्तो भने नहुने ठोकुवा गरे ।
अर्थशास्त्री वाग्लेले दुई तिहाइ बहुमतसहितको केपी ओली नेतृत्वको सरकारले सुरुमा केही आशा देखाए पनि विस्तारै त्यसलाई लिकबाहिर लगेर असफल बनाएको दाबी गरे । अर्थतन्त्रलाई गति दिन नीतिनियम आवश्यक पर्नेमा त्यसो नभइ हुकुमप्रमांगीका भरमा आदेश दिने प्रवृत्तिका कारण ओली सरकारले अर्थतन्त्रलाई गति दिन नसकेको उनको तर्क छ ।
सो अवसरमा कांग्रेस महामन्त्री थापाले नेपाली अर्थतन्त्र उकास्न के गर्ने सन्दर्भमा नेपालका राजनीतिक दलभित्र जुन पूर्वतयारी हुनुपर्ने हो, त्यो लगभग शून्य अवस्थामा रहेको दाबी गरे । सरकार संविधान र स्रोतले तोकेको सीमामा बस्नुपर्ने हुँदा चालु खर्च, पुँजी खर्चलगायत हेरर शिक्षामा खर्च गर्यो भने स्वास्थ्य क्षेत्र छुट्ने अवस्था रहेको उनको भनाइ छ ।
नेपालको अर्थतन्त्र उकास्न बढीभन्दा बढी उद्योग सञ्चालनका लागि ३५ वटा मुख्य क्षेत्र समेटेर सरकारलाई पार्टीले सुझाव दिइसकेको उनले जानकारी दिए ।
नेपालको अर्थतन्त्र आयातमुखी हुँदा असर परिरहेको उल्लेख गर्दै थापाले भने, ‘हामी मान्छे बेच्ने, मालसामान किन्ने देशका नागरिकजस्तै भएका छौँ । मुख्य समस्या भनेको अर्थतन्त्र सबल बनाउन कहाँबाट सुरु गर्ने भन्ने नै हो । मन्त्रालयको जिम्मा लिँदा सचिवले यो गर्ने भन्ने होइन, मन्त्रीले नै आफ्ना प्राथमिकता छुट्याउने व्यवस्था गर्नुपर्छ ।’
वर्षमा नेपालमा कति वटा नयाँ उद्योग खुल्छन्, त्यसमा कतिले रोजगार पाउँछन्, अर्थतन्त्रलाई बलियो बनाउन नीतिगत रूपमै तयारी थाल्न ढिला भइसकेको उनको स्वीकारोक्ति छ ।
कार्यक्रममा सहभागी राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य झाले राजनीतिक पार्टीपिच्छेका अर्थनीतिले नेपालको अर्थतन्त्र अस्थिर भएको बताइन् । दुई तिहाइ बहुमतको सरकारसमेत आफ्नो कार्यकाल पूरा नभइ वर्हिगमनमा परेकाले आर्थिक विकासलाई गति दिन पाँच वर्षभन्दा २५ वर्षसम्मको दीर्घकालीन नीति आवश्यक रहेको झाले औँल्याइन्। राजनीतिलाई भन्दा विकासनीतिलाई अगाडि लैजान नेतृत्वले समयमै सोच बनाउनुपर्नेमा उनको जोड छ ।
पुस्तकमा ०७२ को भूकम्प, कोरोनाले अर्थतन्त्रमा पारेको प्रभाव, अमेरिकी सहयोग एमसीसी परियोजना, नेपालको भौगोलिक अवस्था आदि २५ वटा लेख पुस्तकमा समेटिएका छन् ।
लेखकले वाग्लेले पुस्तकभित्र ९ ओटा लेख, ६ ओटा अन्तर्वार्ता, पत्रपत्रिका तथा अनलाइनमा प्रकाशित आफ्नै सिर्जना समावेश गरेका छन् ।