ओलीको गृह नगर दमकमै एमाले पराजित, राप्रपाका थापा निर्वाचित

237

दमक, ६ जेठ । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीको गृहनगर दमक नगरपालिकामा एमालेले हारेको छ । एमालेले तीन दशकको विरासत गुमाएको छ ।

ओलीको गृहनगरमा कांग्रेस, माओवादी र राप्रपाको महागठबन्धनबाट राप्रपाका राम थापा विजयी भएका छन् । उनी तेस्रो प्रयासमा दमक नगरपालिकाको नगर प्रमुख बन्न सफल भएका हुन् । थापाले ०५४ र ०७४ मा पनि प्रयास गरेका थिए । दुईपटक नै उनी एमालेका रोमनाथ ओलीसँग पराजित भएका थिए ।

निर्वाचित थापाले १७ हजार ५२५ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी एमालेको गीताकुमारी पौडेल अधिकारीले १७ हजार ७२ मत प्राप्त गरिन् । थापा र अधिकारीको मतान्तर ४५३ रहेको छ । अधिकारी विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा सोही नगरको उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।

उपप्रमुख पदमा नेपाली कांग्रेसबाट निर्वाचित रेगिना भट्टराई १६ हजार ९६६ मत प्राप्त गर्दा एमालेका अम्विकाप्रसाद खनालले १६ हजार ५७४ मत प्राप्त गरे । उपप्रमुखमा भट्टराई र खनालको मतान्तर ३९२ छ । ५८ हजार १७६ मतदाता रहेको नगरमा १८ हजार ७१६ पुरुष र २१ हजार १७९ महिला गरी ३९ हजार ८९५ जनाले मतदान गरेका थिए । वडाध्यक्षमा १ मा एमालेका हरिप्रसाद न्यौपाने, २ मा एमालेकै प्रजापति सापकोटा, ३ मा एमालेका नवीन बराल, ४ मा कांग्रेसका पुण्यप्रसाद दाहाल निर्वाचित भएका छन् ।

त्यस्तै, वडा नम्बर ५ मा एमालेका इन्द्रबहादुर गुरुङ, ६ मा एमालेकै टेकबहादुर थापा, ७ मा राप्रपाका भीमप्रसाद पौडेल, ८ मा एमालेका धर्मप्रसाद दाहाल, ९ मा एमालेकै कुवेरप्रसाद भट्टराई र १० मा कांग्रेसका राजेन्द्रप्रसाद भण्डारी निर्वाचित भएका छन् ।

६ दलीय गठबन्धनबाट राप्रपाका थापालाई प्रमुखका साझा उम्मेदवार बनाइएको थियो । मतगणनाको सुरुदेखि नै दमकमा गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुँदै आएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...