स्वास्थ्यकर्मीलाई कुटपिट गरे ३ वर्ष कैद वा ३ लाख जरिबाना

260

काठमाडौँ, ४ जेठ । स्वास्थ्य उपचारको विषयलाई लिएर स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कुटपिट गरेमा ३ वर्ष जेल वा रु ३ लाख जरिबानाको व्यवस्था गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मंगलबार संघीय संसद्को प्रतिनिधिसभामा पेस गरेको ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश–२०७९’ मा उपचारको विषयलाई लिएर चिकित्सक/स्वास्थ्यकर्मी/कर्मचारीलाई कुटपिट गरेमा तीन वर्ष कैद वा तीन लाख जरिबानाको व्यवस्था गरिएको छ ।

अध्यादेशमा स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्‍याउने काम गरेमा तीन वर्ष कैद वा तीन लाख जरिबाना उल्लेख गरिएको छ । यस्तै, स्वास्थ्य संस्थामा आगजनी गरेमा २ वर्षदेखि पाँच वर्षसम्म कैद वा दुई लाखदेखि पाँच लाख जरिबाना अध्यादेशमा तोकिएको छ ।

स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गरेमा, स्वास्थ्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमको बाधा पुर्‍याएमा वा स्वास्थ्यकर्मी तथा कर्मचारीलाई हातपात गर्न, कुनै किसिमको धम्की दिन, गालीगलौज गर्न वा अभद्र वा अपमानजनक व्यवहार गरे एक वर्ष कैद वा रु एक लाख जरिबानाको अध्यादेशमा उल्लेख गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २५ गते प्रमाणीकरण गरेको अध्यादेश मंगलबार स्वास्थ्यमन्त्री खतिवडाले प्रतिनिधिसभामा पेस गरेका हुन् । राष्ट्रपतिले जारी गरेको उक्त अध्यादेश राजपत्रमा पनि प्रकाशित भइसकेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...