- थम्मन थापा
बागलुङ, २७ वैशाख । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा राजनैतिक दल र उम्मेदवारहरु मतदातासँग भोट माग्ने रस्साकसीमा दौडधुप गरिरहेका छन् । गाउँदेखि सहर बजार जताततै चुनावी माहोल तातेको छ । वाम लोकतान्त्रिक गठबन्धन, नेकपा (एमाले) र स्वतन्त्र उम्मेदवारहरु आफनो पक्षमा चुनावी माहोल सिर्जना गर्न यतिबेला तल्लिन छन् ।
उम्मेदवारहरु मतदाताको घरआँगन, खेतबारी, बाटोघाटो र खरबारीमा भोट माग्न लावा लस्करसहित पुगिरहेका छन् । जनताले आफना गुनासा सुझाव सल्लाह र बितेको ५ वर्षको समीक्षा पनि उम्मेदवारसँग गरिरहेका छन् । चुनावी माहोलले सबैलाई छोएको छ चोक चोकमा अहिले स्थानीय तहको निर्वाचनकै विषयमा चियागफ हुने गरेको छ । यो चुनावमा कसले बाजी मार्छ भन्ने विषयमा अडकलबाजीसमेत हुन थालेको छ ।
आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै छ । चुनावी प्रचारप्रसारको अन्तिम दिन उम्मेदवार र राजनैतिक दलहरु आ–आफनो सक्रियतालाई तदारुकताका साथ अगाडि बढाएको बताएका छन् ।
लोकतान्त्रिक वाम गठबन्धनले गलकोट नगरपालिका–१० पाण्डवखानीमा चुनावी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्दै संविधान सभाका पूर्वसदस्य नरबहादुर पुन (निरज)ले नेपालको संविधान २०७२ लाई रक्षा गर्नका लागि आसन्न स्थानीय निर्वाचनमा अहिलेको ५ दलीय गठबन्धनलाई मतदान गरी विजयी गराउनुपर्ने बताए ।
उनले तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निरंकुशता, अहंकारी प्रवृत्तिको अन्त्य गर्नका लागि वर्तमान वाम लोकतान्त्रिक गठबन्धन निर्माण भएको बताए ।
पुनले निवर्तमान गलकोट नगरको नेतृत्वले विकास निर्माणका धेरै कार्यक्रमको सुरुवात गरेको हुँदा त्यसलाई एउटा उचाइमा पुर्याउँदै विकसित र समृद्ध गलकोट निर्माण गर्न गठबन्धनलाई विजयी गराउनु अहिलेको आवश्यकता रहेको भन्दै मतदाताहरुले कुनै पनि व्यक्तिको लहैलहैमा नलागी गठबन्धनका आधिकारिक उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरे ।
सो अवसरमा गलकोट नगरपालिकाका नगर प्रमुख पदका उम्मेदवार भरत शर्मा गैरेले आफु नेतृत्वको पहिलो नगरपालिकाको टिमले गलकोट नगरको मुहार फेर्न थुप्रै कामको सुरुवात गरेको र बाँकी रहेका कामलाई पूरा गरी नमुना नगरपालिका निर्माण गर्न मतदान गर्न अपिल गरे ।
त्यस्तै गलकोट नगरपालिकाका नगर उपप्रमुख पदका उम्मेदवार फमलाल निउरेले देश अहिले अफ्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको हुँदा यो गठबन्धन निर्माण भएको बताए । निउरेले प्रतिगमनका विरुद्व मिलेर बनेको गठबन्धनको मर्म, भावना र उद्देश्य अनुरुप गलकोट नगरलाई समानुपातिक रुपमा विकास गरी समृद्ध गलकोट निर्माण गरिने उल्लेख गरे ।
सो अवसरमा नेपाली कांग्रेसका पूर्वजिल्ला कोषाध्यक्ष उमेश गौतम, वाम लोकतान्त्रिक गठबन्धन चुनाव प्रचारप्रसार समितिका सचिव टंक केसी, नेकपा (माओवादी केन्द्र)का गलकोट नगर सदस्य छम काउचालगायतले मतादाताहरुलाई गठवन्धनका उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरेका छन् ।
कार्यक्रम नेपाली कांग्रेस गलकोट नगरपालिका १० का कार्यवहाक सभापति दीप घर्तीको अध्यक्षता र नेकपा (माओवादी केन्द्र)का विष्णु काउचाको सञ्चालनमा सम्पन्न भएको थियो । गठबन्धनले पाण्डवखानी रमुवामा पनि चुनावी कार्यक्रम सम्पन्न गरेको छ ।