काठमाडौँ, २६ वैशाख । नेपालले पाहुना टोली जिम्बावे ‘ए’ विरुद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ ।
सोमबार भएको तेस्रो तथा अन्तिम एकदिवसीयमा जिम्बावेलाई ६ विकेटले हराउँदै नेपालले सिरिज २–१ ले जितेको हो ।
टियु क्रिकेट मैदानमा जिम्बाब्वेले दिएको २१४ रनको लक्ष्य नेपालले ३० ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा अर्धशतकीय इनिङ खेलेका कुशल भुर्तेलले ८४ रन बनाए ।
दिपेन्द्रसिंह ऐरीले अविजित रहँदै ६० रनको अर्धशतकीय इनिङ खेले । आसिफ शेखले २९ रन जोड्दा सुनिल धमलाले ६ रन जोडे । विनोद भण्डारी २८ रनमा अविजित रहे ।
जिम्बाब्वेका ब्राण्डन माभुताले ३ विकेट लिए । ब्राड इभान्सले १ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले ३२ ओभर १ बलमा अलआउट हुँदै २१३ रन बनाएको थियो । मैदानमा पानी जमेकाले ढिला सुरु हुँदा खेल ३३ ओभरमा झारिएको थियो ।
जिम्बाब्वेका लागि टाडीवानाशे मारुमानीले ५० रनको अर्धशतकीय इनिङ खेले ।
नेपालका किशोर महतोले ५ विकेट लिए । सोमपाल कामीले २ तथा करण केसी र दिपेन्द्रसिंह ऐरीले १÷१ विकेट लिए ।
सिरिज अन्तर्गत पहिलो खेलमा जिम्बाब्वेले नेपाललाई ३ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले जिम्बावेलाई ९ विकेटले हराएको थियो ।
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–टु अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय सिरिजको तयारीमा स्वरूप नेपालले जिम्बावे ‘ए’सँग सिरिज खेलेको हो ।