मंगलबार रातिदेखि मौन अवधि सुरु हुने

105

काठमाडाैँ, २६ वैशाख । वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार राति १२ बजेबाट मौन अवधि सुरु हुने जानकारी दिँदै मौन अवधि सुरु हुन अगाडि सामाजिक सञ्जालमा भएका निर्वाचन आचारसंहिताविपरीतका पोस्टहरु हटाउन र नयाँ पोस्ट नगर्न निर्देशन दिएको जानकारी दिए ।

सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको बिक्री वितरण र सेवन गर्न प्रतिबन्ध लगाएको जनाएको छ । आयोगले तोकिएको अवधि र ठाउँमा मादक पदार्थ बिक्री वितरण र सेवन कार्य गर्न निषेध गरिएको प्रवक्ता पौडेलले बताए ।

यसैगरी, आयोगले कालो, रातो, निलो वा हरियोमध्ये कुनै मसी प्रयोग भएको कलम वा डटपेनले मतपत्रमा हस्ताक्षर गर्ने व्यवस्था मिलाउन पनि सबै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुलाई सचेत गराएको छ ।

त्यस्तै, मतदान हुने समय बिहान ७ बजेदेखि मतदान हुने देशभरका सबै मतदान केन्द्रमा मतदानको समय र मतगणनाको समयमा वर्षाले समस्या पार्ने भएकाले यस्तो हुन नदिन र निर्वाचन सामग्रीको समेत सुरक्षा गर्न आयोगले निर्देशन दिएको प्रवक्ता पौडेलले बताए । साथै आयोगले निर्वाचन आचारसंहिताविपरीत समाचार छापेको भन्दै गोरखापत्रलगायतका सञ्चारमाध्यमलाई स्पष्टीकरण सोधेको उनले बताए ।

त्यस्तै प्रवक्ता पौडेलले यसअघिको निर्वाचन भन्दा अहिलेको निर्वाचन तुलनात्मक रुपमा सस्तो हुने दावी गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...