काठमाडौँ, २४ वैशाख । त्रिभुवन आर्मी क्लबले छैटौँ संस्करणको आरबिबी–एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको पुरुषतर्फ लगातार पाँचौँ जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शुक्रबार नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै आर्मीले लगातार पाँचौँ जित निकालेको हो । पहिलो सेट गुमाएपनि आर्मीले उत्कृष्ट पुनरागमन गरेको थियो ।
आर्मीले पुलिसमाथि १७–२५,२५–२०,३०–२८ र २५–२३ को सेटमा जित निकालेको हो । जितसँगै आर्मीले ५ खेलमा १५ अंक जोडेको छ । पुलिसको ५ खेलमा ९ अंक रहेको छ ।
त्यस्तै शुक्रबार नै एपिएफ क्लबले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–१ को सोझो सेटमा हरायो । एपिएफले ढोरपाटनमाथि २५–१५, २५–१३ र २५–१४ को सेटमा पराजित गरेको हो ।
गलकोट स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराएर हेल्प नेपालले पाँचौँ जित निकाल्यो । हेल्पले गल्कोटमाथि २५–१५,२५–१३ र २५–२१ को सेटमा जित निकालेको हो ।
त्यस्तै महिलातर्फ एपिएफसँग न्यु डायमण्ड ३–० को सेटमा पराजित भयो । एपिएफले न्यु डायमण्डमाथि २५–१९, २५–१० र २५–९ को सेटमा हराएको हो । न्यु डायमण्डको यो लगातार चौथो हार हो ।
प्रतियोगितामा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गलकोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब रहेको छ ।
महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट भलिबल क्लब रहेको छ । विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौंथोले ७५ हजार प्राप्त गर्ने छन् ।