प्रचण्ड र माधव नेपालका कारण समाजवादको यात्रा अलमलियो : गोविन्द नेपाली

111
  • रोशन जिसी

बागलुङ, २१ वैशाख । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज गोविन्दबहादुर नेपालीले नेपाली जनताले विश्वास गरेर दिएको जनमत देउवाको झोलीमा राखेर वामपन्थी राजनीतिलाई कमजोर बनाउने प्रचण्ड र माधव नेपालहरुका कारण मुलुक अस्थिरतातर्फ अग्रसर बनेको बताएका छन् ।

नेकपा (एमाले) काठेखोला गाउँपालिकाले सञ्चालन गरेको चुनावी अभियानअन्तर्गत मंगलबार वडा नम्बर ३ धम्जामा आयोजित चुनावी सभामा बोल्दै नेपालीले यस्तो बताएका हुन् ।

नेपाली जनताले वामपन्थी शक्तिलाई सत्तामा पठाएर मुलुक परिवर्तन गराउन चाहन्थे, एमाले नेतृत्वमा बनेको सरकारले समृद्धिका थुप्रै योजना अगाडि ल्याएको थियो, तर प्रचण्ड र माधव नेपालहरुले जनताले दिएको अभिमत पुँजीवादी शक्ति नेपाली कांग्रेसलाई दिएर समाजवादको यात्रा रोकेको नेपालीको आरोप छ ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज इन्द्रलाल सापकोटाले गठबन्धनका नाममा एमालेविरुद्ध गरिएको घेराबन्दीका विरुद्ध गाउँ गाउँका जनताले संगठित भएर एमाले जिताउने अभियान सञ्चालन गरेको बताए । उनले जनतालाई एमालेले मात्रै मुलुक निर्माण गर्न सक्छ भन्ने विश्वास भइसकेकाले कसैले गठबन्धन वा अन्य नाममा एमाले सक्ने योजना बनाउँदैमा एमाले कमजोर नहुने बताए ।

पार्टीका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख कृष्ण केसीले वामपन्थी विचारबाट विचलित हुँदै गएका प्रचण्ड र माधव नेपालले देउवालाई काँधमा बोकेर समाजवादको यात्रा पूरा गर्ने उल्टो बाटो हिँडेकोले देशभक्त र वामपन्थी शक्तिहरुले एमालेलाई रोज्नु पर्नेमा जोड दिए ।

एमाले बागलुङका अध्यक्ष हिराबहादुर केसीले २०४६ सालको परिवर्तनपछि नै धम्जा एमालेको किल्लाका रुपमा स्थापित हुँदै आएको र वैशाख ३० गते हुने निर्वाचनमा पनि धम्जावासीले आफ्नो विरासत कायम राख्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्यहुमाकुमारी जिसी (अञ्जु), प्रदेश कमिटि सदस्य रामबहादुर जिसी, जिल्ला सचिवालय सदस्यतथा काठेखोला गाउँपालिकाका अध्यक्ष अमरबहादुर थापा, इञ्जिनियर एसोसियन गण्डकीका संयोजक खिमानन्द कँडेल, एमाले जिल्ला सदस्य प्रेमबहादुर श्रीसलगायतले वैशाख ३० गतेसम्म सचेत भएर जनतालाई सूर्य चिन्हमा मतदान गर्ने वातावरण सिर्जना गर्न आह्वान गरेका थिए ।

काठेखोलामा एमालेका तर्फबाट अध्यक्षका उमेदवार डिलबहादुर कार्की, उपाध्यक्षका उमेदवार कोपिला पुन र वडा नम्बर ३ का अध्यक्षका उमेदवार कुलबहादुर विकले धम्जा र सिंगो काठेखोलाको विकासका लागि एमालेले बनाएको प्रतिवद्धता पत्रमा उल्लेख भएका विषयहरुलाई प्राथमिकतामा राखेर काम गर्नका लागि एमालेको सूर्य चिन्हमा मतदान गर्न आह्वान गरे ।

एमाले काठेखोलामा ८ वडा ८ पहिचानका रुपमाप्रत्येक वडाको विशेषताका आधारमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । धम्जालाई पर्यटनको विशेष क्षेत्र र आलुको पकेट क्षेत्रका रुपमाविकास गर्नुका साथै भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पर्यटनलगायतका क्षेत्रमा प्रभावकारी कामगर्ने प्रतिवद्धता उमेदवारहरुले व्यक्त गरेका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...