कोहलपुरमा एमाले उम्मेदवारको प्रतिवद्धता : मुक्त कमैया बस्तीलाई नमुना बनाउने

134

नेपालगञ्ज, २१ वैशाख । नेकपा (एमाले)ले कोहलपुरमा ‘हामी बनाउँछौँ– हाम्रो कोहलपुर, राम्रो कोहलपुर’ नारासहित भौतिक पूर्वाधार तथा यातायातको विकासका सवालमा विभिन्न प्रतिवद्धताहरु गरेको छ । एमालेको तर्फबाट मेयरका उम्मेदवार खिलप्रसाद भुषाल र उपमेयर उम्मेदवार अस्मिताकुमारी थारुले विकासका अन्य क्षेत्रहरुलाई समेत उच्च प्राथमिकतामा राखेको छन् ।

पूर्वाधार निर्माणको सवालमा मुक्त कमैया बस्तीलाई नमुना बस्तीका रुपमा विकास गर्ने उद्घोष गरेको छ । त्यस्तै, प्रत्येक वडामा बालबालिकाका लागि चिल्ड्रेन पार्कको निर्माण, एक एक सुविधा सम्पन्न सामुदायिक भवन, मुस्लिम, मधेसी, आदिवासी÷जनजातिलगायत सबै लाभान्वित हुने गरी धर्मशाला निर्माण गर्ने प्रतिवद्धता गरेका छन् ।

विद्युत्, टेलिफोनका तार, टिभी केवल र खानेपानीका पाइपहरु व्यवस्थित गर्ने, नगरपालिकाको सम्पूर्ण क्षेत्रलाई जोड्ने तथा समेट्ने गरी बाहिरी र भित्री चक्रपथ बनाउने, प्रत्येक वडा केन्द्रलाई सडक पूर्वाधारमार्फत् नगरपालिकाको केन्द्रसँग जोड्ने र हरेक बस्तीहरुलाई उपयुक्त यातायात पूर्वाधारबाट नजिकको प्रशासनिक केन्द्र र बजारसँग जोड्ने, जीर्ण अवस्थाका धार्मिक स्थलहरुको मर्मत सम्भार गर्ने र योग तथा ध्यान केन्द्रको निर्माण गर्ने, प्रत्येक वडामा एक एकीकृत सेवा केन्द्रको स्थापना गर्ने र छरिएका बस्तीहरुलाई एकीकृत गरी एकीकृत सहरी विकास गुरुयोजना तयार गरी कार्यान्वयन गर्ने प्रतिवद्धता गरिएको छ ।

प्रत्येक वडामा पुस्तकालय/वाचनालय, स्थानीय संस्कृति झल्कने संग्रहालय, प्रसुति केन्द्र (बर्थिङ सेन्टर), वडा प्रहरी कार्यालय, पशु उपचार तथा कृषि केन्द्र, पार्क, बालगृह, बालउद्यान, बाल विकास केन्द्र, ज्येष्ठ नागरिक विश्रामगृह, तालिम केन्द्र र खेलकुद मैदानलगायतका आवश्यक संरचनाहरु निर्माण गर्दै टाउन प्लानिङका पार्कहरुको स्तरोन्नतिका लागि गुरुयोजना तयार पार्ने प्रतिवद्धता उल्लेख छ ।

सार्वजनिक जग्गाको खोजी, पहिचान, संरक्षण र उपयोग गर्ने, पाालिका बनाउने क्रममा नगरपालिकामा गाभिएका नयाँ क्षेत्रहरुमा विद्यालय, स्वास्थ्य चौकी लगायतका संरचना निर्माणलाई प्रोत्साहित गर्दै ती क्षेत्रहरुमा शहरीकरणलाई तीव्र र व्यापक बनाउने, संघ र प्रदेशसँग सहकार्यमा जनता आवास, सुरक्षित आवास, विपद् पीडित आवास तथा दलित समुदायको आवास कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गर्ने, फुसको छाना विस्थापित गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।

कोहलपुरको चप्परगौडी देखि सल्यानको घुइयाबारी जोड्ने अन्तरप्रदेश (लुम्बिनी र कर्णाली प्रदेश) सडक, एक हजार सिट क्षमताको आधुनिक र सुविधा सम्पन्न सभागृह, रिङ्गरोड, कर्भड हल, २५ शय्याको बाल अस्पताल, १५ शय्याको आधारभूत अस्पताल, तिलगंगा आखा अस्पतालको कोहलपुर युनिट, योग एवं प्राकृतिक अस्पताल निर्माण तथा सञ्चालन गर्ने र गोलपार्कमा निर्माणाधीन भ्युटावरको निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने, कोहलपुर वडा नम्बर ११ को चौराह उत्तरमा आधुनिक पार्क र बहुउद्देशीय आधुनिक रंगशाला निर्माण गर्ने, कोहलपुर नगरपालिकामा प्राविधिक शिक्षालय, औधोगिक ग्राम तथा औधोगिक क्षेत्र, अटो भिलेज निर्माण लगायत न्युनतम सहरी पुर्वाधारहरुको विकास गर्ने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

प्रतिवद्धतापत्रमा सिक्टा सिंचाइ आयोजनाबाट प्रभावित किसानहरु र जग्गा धनीहरुलाई उचित मुअब्जा वितरण तथा यसले कोहलपुर क्षेत्रमा सिर्जना गरेको डुवानको समस्या समाधान गर्ने र समयमा नै आयोजना निर्माणको कार्य सम्पन्न गर्नका लागि पहल गर्ने, वडा नम्बर ११ स्थित लोकनगरमा रहेको मुक्त कमैया बस्तीलाई नमुना बस्तीको रुपमा विकास गर्ने, स्थानीय जनताहरुले भोगचलन गर्दै आएको साविक चटार ८ (क) को सार्वजनिक ऐलानी पर्ति जग्गा नेपाल सरकारको नाममा जग्गा धनी पुर्जा कायम गरेकोमा सो समस्याको न्यायोचित समाधान गरी भोगचलन गर्नेहरुको स्वामित्व कायम गर्नका लागि पहल गर्ने उल्लेख गरिएको छ ।

त्यसै गरी साविक रझेना ७ क र ख को नक्शा बमोजिम फिल्डमा जग्गा नपुग भएर सिर्जित समस्याको समाधानका लागि पहल गर्ने, नगरपालिकाभित्र विभिन्न स्थानको डुवान तथा ढलनिकासको समस्या समाधान गर्न निर्माण गरिएको गुरुयोजनाको कार्यान्वयन गर्ने, पेडारीनाला, रोहिणीखोला, डुडुवा र किरणखोलामा आवश्यक स्थानहरुमा पुलहरु निर्माण गर्ने, रोहिणीखोला तटबन्ध निर्माण गर्ने र डुडुवामा तटबन्ध, ग्रिनबेल्ट, पदमार्ग तथा करिडोर निर्माण गर्ने प्रतिवद्धता गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...