लोडर दुर्घटनामा तीन चिनियाँ नागरिकको मृत्यु
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकामा सोमबार लोडर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
निजगढ–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्रयाक)अन्तर्गत बकैया–११ घट्टेपाखा र लेनडाँडा नजिकै लोडर दुर्घटना हुँदा तीन चिनियाँ नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै र एक जनाको हेटौंडा अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार मृतक तीन जनाको सनाखत हुन सकेको छैन । उनीहरुको शव परीक्षणका लागि हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ ।
यस्तै, दुर्घटनामा परेर गम्भीर घाइते भएका अन्य तीन जनालाई हेटौंडा अस्पतालमा उपचारपश्चात थप उपचारका लागि चितवनको मेडिकल कलेजमा पठाइएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । फास्ट ट्रयाकमा काम गरिरहेको लोडर एक्कासी सिमात खोलामा खसेको थियो ।