सुकुमबासी समस्या समाधान गरी लालपुर्जा वितरण गर्छु : प्रकाश शाही

282

काठमाडौँ, १८ वैशाख । नेपाली कांग्रेसबाट बैजनाथ गाउँपालिकाका अध्यक्षका उम्मेदवार प्रकाशबहादुर शाहीले पालिका अध्यक्षमा विजयी भए सबैभन्दा पहिलो काम सुकुमबासी समस्या समाधान गरी लालपुर्जा वितरण गर्ने बताएका छन् ।

बैजनाथ ७ पेरारीमा आइतबार घरदैलो अभियानका क्रममा अध्यक्षका उम्मेदवार शाहीले प्रधानमन्त्री शेरबहादुर देउवाले भूमि आयोग गठन गरी जिल्लामा सुकुमबासीलाई लालपुर्जा वितरण गर्न निर्देशन गरे पनि बैजनाथका सुकुमबासीलाई लालपुर्जा पाउनबाट एमालेले बञ्चित गरेको बताए ।

शाहीले भने, “बैजनाथमा अहिले एमालेले पालिका जितेको छ । हामीले पटक–पटक पालिका अध्यक्ष मानबहादुर रुचाललाई चाँडोभन्दा चाँडो पालिकामा भएका सुकुमबासीको लगत संकलन गरी भूमि आयोगलाई बुझाउन आग्रह गर्‍यौँ तर उहाँले काम गर्नुभएन ।”

रुचालले प्रधानमन्त्री देउवाको पालामा सुकुमबासीले लालपुर्जा पाएमा स्थानीय सरकार कांग्रेसले जित्छ भन्ने भयका कारण पालिकाका सुकमबासीलाई जग्गा पाउनबाट बञ्चित गरेको दाबी गरे ।

कांग्रेसले जित्छ भनेर पालिका अध्यक्ष रुचालले पूर्वाग्रही तवरले लालपुर्जा वितरणमा ढिलासुस्ती गरी सुकुमबासी तथा भूमिहीनलाई लालपुर्जा पाउनबाट बञ्चित गरेको उपाध्यक्षकी उम्मेदवार निर्मला रोकायले बताइन् ।

यसैबीच, नेपाली कांग्रेस बैजनाथ गाउँपालिकाकी उपाध्यक्षकी उम्मेदवार रोकायले श्रमिक महिलाहरुलाई राज्यले बेवास्ता गरेको बताइन् ।

Share This:
सम्बन्धित खबर
Loading...