काठमाडौँ, ११ वैशाख । सरकारले जेष्ठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।
यस्तै, सरकारले सरकारी कार्यालयको समय पनि निर्धारण गरेको छ । जेठ १ गतेदेखि बिहान ९ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म तोकेको छ । हाललाई परीक्षणका रुपमा उक्त व्यवस्था गरिएको प्रवक्ता कार्कीले जानकारी दिए । उनले बाहिर चर्चा चलेजस्तो मुलुकको अर्थतन्त्र खराब नभएको दाबी पनि गरे ।
मन्त्रिपरिषद्ले खानेपानी क्षेत्रको सुशासन र पूर्वाधार सहयोग आयोजनाका लागि विश्व बैंकबाट प्राप्त हुने ८० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋणसहायतासम्बन्धी दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, कम आवश्यक, विलासीजन्य र स्वास्थ्यमा नकारात्मक असर पार्ने विभिन्न दश ओटा वस्तुहरुको पैठारीमा पूर्ण बन्देज लगाउने निर्णय पनि भएको उनले बताए ।
बैठकले सशसस्त्र प्रहरी अतिरिक्त महानिरिक्षक पदमा सशस्त्र प्रहरी नायब महानिरीक्षक राजु अर्याललाई बढुवा गर्ने, सिन्धुपाल्चोकको तातोपानी अन्तर्गत पर्ने ९ रोपनी सरकारी जग्गा भोटेकोसी गाँउपालीकालाई लिजमा उपलब्ध गराउने निर्णय भएको प्रवक्ता कार्कीले बताए ।
त्यस्तै, बैठकले श्रममन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डललाई मलेसियाको भ्रमण गर्न स्वीकृती दिने, फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधारको विकास समिति आदेश स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।