कांग्रेस घोषणापत्रमाथि ओलीको कटाक्ष : ‘बिचरा ! कहाँ पुग्यो कांग्रेस ?’

198

काठमाडौँ, १३ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनावी घोषणा पत्रलाई ‘गालीगलौजको पुलिन्दा’ भएको बताएका छन् ।

मंगलबार सानेपामा मनमोहन स्मृति प्रतिष्ठानमा अधिकारीको २३औँ स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ओलीले नेपाली कांग्रेसको चुनावी घोषणा पत्र गालीगलौजको पुलिन्दा मात्र भएको दाबी गरे ।

“घोषणा पत्र भन्ने शीर्षक छ, भित्र गालीपुराण छ । एमालेलाई तथानाम गाली । धारेहात सरापेको सराप्यै,” ओलीले भने ।

उनले कांग्रेसको घोषणा पत्र हेर्दा ‘माया लागेको’ भन्दै कटाक्ष पनि गरे । “कांग्रेसको घोषणा पत्र पढ्नुस्, मजा आउँछ । कहाँ रसातलमा झर्‍यो भने ! कठैबरी, माया लाग्छ । कहाँ पुग्यो बिचरा कांग्रेस ! लोकतन्त्रका लागि मात्रै दया देखाइरहेको हो । नत्र दया देखाइरहनु पर्दैन ।”

उनले कांग्रेससँग अहिले कुनै राजनीतिक एजेन्डा र देश विकासको योजना नभएको र कांग्रेसमा देश विकास, नीति, नियम, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहको देहान्तसँगै सकिएको भान हुन थालेको बताए ।

ओलीले घोषणा पत्र एक व्यक्तिले लेखेको भाषण जस्तो भएको पनि बताए । घोषणा पत्रमा एमालेमाथि तथानाम गाली, संविधानको राम्रा कुरा उतारिएको र एमालेको घोषणा पत्रको कपी गरेको आरोप पनि लगाए ।

कांग्रेस समर्थित बुद्धिजीवीले समेत कांग्रेसको घोषणा पत्रको पक्षमा लेख्न नसक्ने जिकिर समेत उनले गरे । “हाम्रा साथीहरुले घोषणा पत्र पढेर कांग्रेसको हविगतको इन्योय गर्नुस् । नेपालमा कांग्रेसले समर्थित कोही बुद्धिजीवी छ भने कांग्रेसको घोषणा पत्रको पक्षमा लेख्ने हिम्मत देखाउनुस्,” उनले भने,“हामीलाई त राम्रो छ । नेपाली कांग्रेसका सभापति, प्रधानमन्त्री उहाँले यस्तै घोषणा पत्र निकाल्नुहुन्छ, यस्तै काम गर्नुहुन्छ र अलि सजिलो भएको छ । शेरबहादुरजीलाई धन्यवाद दिए हुन्छ ।”

अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) पार्टी नभइ केन्द्र भएको दाबी गरे । चुनाव घोषणा पत्र निकाल्न नसक्ने पार्टी नहुने उनको तर्क थियो । अध्यक्ष ओलीले चुनावी घोषणा पत्र किन ननिकालेको भन्ने प्रश्न सोध्न पनि आग्रह गरे । उनले माओवादीले के गर्छ, के गर्न खोज्दैछ भन्ने कुराहरु भन्न नमिल्ने र झुट बोल्न बाँकी कुरा नभएकाले ननिकालेको आरोप लगाए ।

ओलीले भने,“नेपालमा अहिले माओवादी भन्ने पार्टी चुनावमा जाँदै छ । हुन त त्यो माओवादी पार्टी होइन, केन्द्र हो । यस्तो सेन्टरहरु विभिन्नले खोलेका छन् नि । यस्तै, माओवादी एउटा सेन्टर हो । त्यसले चुनाव घोषणा पत्र नै निकालेन । माओवादीको चुनाव घोषणा पत्र कांग्रेसले निकालेकै छ भइगयो नि भन्ने छ ।”

अध्यक्ष ओलीले यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उत्तेजना नबनीकन अगाडि बढ्न पनि नेता कार्यकर्तालाई निर्देशनसमेत दिए ।

Share This:
सम्बन्धित खबर
Loading...