नेपाल एयरलाइन्सले जापानमा साताको तीन उडान गर्ने

219

काठमाडौँ, १३ वैशाख । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जापानको नारिता गन्तव्यमा साताको तीन उडान सञ्चालन गर्ने भएको छ ।

निगमले काठमाडौँ–नारिता गन्तव्यमा साताको दुई उडान भर्दै आएकोमा १ मे २०२२ देखि साताको तीन उडान गर्ने भएको हो । उक्त गन्तव्य निगमले साताको तीन दिन आइतबार, मंगलबार र शुक्रबार उडान सञ्चालन गर्ने योजना बनाएको निगमले विज्ञप्तिमार्फत् जनाएको छ ।

जापान सरकारको नियमअनुसार आइतबार र मंगलबारको उडानमा जम्मा १४० यात्रुहरु एवम् शुक्रबारको उडानमा जम्मा १२० जना यात्रु मात्र बोक्न पाइने विज्ञप्तिमा जनाइएको छ । विशेषगरी कोभिड–१९ महामारीपछि हवाई यात्रुको चाप बढेको एवम् मागको तुलनामा सिट संख्याको उपलब्धता ज्यादै न्यून रहेकाले उडान संख्या थप्न लागिएको निगमले जनाएको छ ।

जहाजको क्षमताभन्दा करिब आधा कम क्षमतामा काठमाडौँ–नारिता यात्रु बोक्न परेकाले स्वभाविकरुपमा हाल भाडादर केही महँगो हुन गएको छ । काठमाडौँ–नारिता रुटमा करसहित बिजनेस क्लासमा एक लाख ५२ हजार र इकोनोमी क्लासमा एक लाख १९ हजार भाडादर कायम गरिएको छ । यसरी तोकिएको मूल्यभन्दा बढी भाडा लिइ टिकट बिक्री वितरण गरेको गुनासो प्राप्त भएको हुँदा कसैले तोकिएको मूल्यभन्दा बढी मूल्य लिइ बिक्री वितरण गरेको पाइएमा नियमानुसार कारबाही हुने पनि निगमले स्पष्ट पारेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...