काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले विभिन्न आन्दोलनपछिको उपलब्धि जोगाउनका लागि फेरि वामपन्थी एकता हुनुपर्ने बताएका छन् ।
नेपाल कम्युनिस्टष्ट पार्टीको ७३औँ स्थापना दिवस तथा १५२औँ लेनिन जयन्तीका अवसरमा शुक्रबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले गणतन्त्रलाई कमजोर पार्दै जनताको घरदैलोमा पुगेको अधिकार खोस्ने षडयन्त्र भइरहेको भन्दै माओवादी आन्दोलनका घटकहरु एक हुनुपर्ने बताए ।
माओवादी आन्दोलनलाई र क्रान्तिकारी कम्युनिस्टलाई विभाजन गरेर मात्रै आफ्नो प्रतिक्रियावादी सत्ताको पुर्नप्राप्ति हुन सक्छ भन्नेहरु र फेरि निरंकुश लाद्न खोज्नेहरु अझै पनि सक्रिय रहेकाले सजक रहनुपर्ने उनको भनाइ छ ।
उनले हिजो विभाजित भएर गएका माओवादीमा पनि विभाजनको औचित्य पुष्टि हुन नसकेकाले फेरि कम्युनिस्टहरुक बीचमा ध्रुवीकरण हुनसक्ने जिकिर गरे । त्यस्तै, उनले कम्युनिस्टलाई कमजोर पार्न खोजिएकै कारण नेकपाको एकता टिक्न नसकको तर्क गरे । अहिले एमालेभित्र पनि राम्रा कम्युनिस्ट रहेपनि नेतृत्वमा गलत व्यक्ति पर्दा त्यहाँ रहेका इमान्दर कम्युनिस्टहरु त्यसको शिकार हुने खतरा रहेको उनले बताए ।
प्रचण्डले एमालेभित्रका इमान्दार कम्युनिस्टहरुले गलत प्रवृतिकाविरुद्ध संघर्ष गर्नुपर्ने उल्लेख गरे ।