काठमाडौँ । सत्ता गबठन्धनमा सहमति जुटेको छ । महानगरपालिका र उपमहानगरपालिकाको नेतृत्वको विषयमा सहमति गर्न निरन्तर बसिरहेको बैठकले सहमति गरेको हो ।
बुधबार ६ महानगरपालिका र ११ महानगरपालिकाको भागबन्डा टुंगिएको बैठकमा सहभागी एक नेताले बताए । ती नेताका अनुसार अन्तिम सहमति पत्रमा केहीबेरमा हस्ताक्षर हुँदै छ । सहमति जुटाउन दलहरुको आन्तरिक र बहुपक्षीय बैठक बसेको थियो ।
भएको सहमतिअनुसार उपमहानगरको सन्दर्भमा कांग्रेसले ७ उपमहानगर पाउने छ भने माओवादी केन्द्रले २ पाउने छ । ११ उपमहानगरमध्ये नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले भने एक–एक पाउनेछन् ।
महानगरबारे हिजो (मंगलबार) नै सहमति भइसकेको छ । ६ महानगरमध्ये ३ कांग्रेसले लिने सहमति बन्दा अन्य दलहरु माओवादी, एकीकृत समाजवादी र जसपाले भने समान एक–एक लिनेछन् । जसमा कांग्रेसले काठमाडौँ, ललितपुर र विराटनगर लिनेछन् । यस्तै, माअोवादीले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जसपाले वीरगञ्ज लिनेछन् ।