काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले चितवनको भरतपुर महानगरपालिकामा छोरी रेणु दाहालका लागि मेयर नमागेको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले भरतपुर महानगर नै चाहिने र मेयरमा रेणुलाईलाई उठाउनुपर्ने दाबी आफूहरुले नगरेको बताएका हुन् ।
उनले भने,“रेणुलाई भरतपुर चाहियो, नभए हुन्न भन्ने कुरामा सत्यता छैन । हामीले केवल जित्न सजिलो हुने स्थान हेरेर बाँटफाँट गरौँ भनेका हौँ । त्यसमा कांग्रेसका धेरैलाई पनि भरतपुरमा हामीलाई सहज हुन्छ भन्ने छ । तर, केहीलाई त्यस्तो लागेका छैन ।” ६ ओटामा एउटा माओवादी केन्द्रलाई पर्ने भएकाले काठमाडौँ वा विराटनगर पाए पनि आफूहरु खुसी रहेको बताए ।
तर, भरतपुरमा २०७४ मा रेणु दाहालले जितेकाले त्यहाँ सजिलो हुने कुरा मात्रै माओवादीले राख्ने गरेको उनले बताए ।
“जहाँ सजिलो हुन्छ त्यही लिने भनेको हो,” उनले भने,“मोटामोटी सहमति भएको छ । भरतपुर दिन मोटामोटी सहमति गठबन्धनमा छ । कांग्रेसका केही नेताले मानेका छैनन् तर औपचारिक निर्णय भएपछि यस्ता विरोधले तात्विक फरक पर्देन ।