कांग्रेस र जसपाबीच मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति

246

वीरगञ्ज । सत्ता साझेदार दलमध्ये नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच आसन्न स्थानीय तहको निर्वाचनलाई लिएर पर्सा जिल्लामा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको छ ।

कांग्रेस जिल्ला सभापति जनार्दनसिंह क्षेत्री र जसपाका जिल्ला अध्यक्ष रामनरेश यादवद्वारा संयुक्तरुपमा जारी विज्ञप्तिमा यी दुई दलबीच जिल्लामा चुनावी तालमेल नगरी मित्रवत् प्रतिस्पर्धामा जाने सहमति भएको उल्लेख छ ।

आसन्न निर्वाचनमा जिल्लामा यी दुई दलबीच तालमेल नहुने भएपछि जिल्लाका वीरगञ्ज महानगरसहित जिल्लाका १४ ओटै स्थानीय तहमा आ–आफ्नो उम्मेदवार उतार्ने छन् ।

निर्वाचनमा सत्ता गठबन्धनका पाँच दलले मिलेर चुनाव लड्ने केन्द्रीय नेताहरुले कसरत गरिरहेको बेला जिल्लामा भने ती दुई दलबीच तालमेल नगरी मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति गरेका हुन् । जिल्लाभारि मधेस प्रदेशको एकमात्र वीरगञ्ज महानगरपालिका, अन्य तीन ओटा नगरपालिका र १० ओटा गाउँपालिका छन् ।

वीरगञ्जमा यसअघि तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित मेयर विजयकुमार सरावगी नेकपा (एमाले)मा प्रवेश गरिसकेका छन् । उनलाई एमालेले मेयरको उम्मेदवारका रुपमा अगाडि पनि सरिसकेको जनाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...