कांग्रेस महामन्त्री थापा भन्छन्– तालमेल गर्ने वा नगर्ने निर्णय स्थानीय कमिटीबाटै हुन्छ

255

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी स्थानीय तहको निर्वाचनमा अन्य पार्टीसँग तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा पार्टीभित्र सघन बहस भएको बताएका छन् ।

नयाँ वर्षको अवसरमा शनिबार आयोजित चियापान कार्यक्रममा सम्बोधन गर्दै उनले आफूलगायत केहीको धारणा एक्लै चुनाव लड्नुपर्छ भन्ने पक्षमा रहेको बताए । “म लगायत केही साथीहरुको धारणा, बरु केही समय क्षति बेहोर्नुपरे पनि बेहोरौँला । तर, नेपाली कांग्रेसले एक्लै लड्नुपर्छ भन्ने धारणा रह्यो,” उनले भने ।

सत्ता गठबन्धनमा चुनावी तालमेल गर्ने समझदारी भए पनि गर्ने वा नगर्ने भन्ने निर्णय गर्ने अधिकार पार्टीको स्थानीय कमिटीलाई रहेको बताए । उनले पार्टी केन्द्रको निर्णयलाई आधार मानेर उम्मेदवार टुंगो लगाउन र नतिजा आफ्नो पक्षमा पार्ने गरी प्रचारप्रसारमा लाग्न आग्रह गरेका छन् ।

थापाले भने, “पार्टीले अवस्था र आवश्यकताका आधारमा तालमेल गर्न सक्ने भनेर निर्णय गरेको छ, त्यो भनेको तालमेल गर्न पनि सक्ने, नगर्न पनि सक्ने भन्ने हो । यसको निर्णय केन्द्रीय सभापति वा केन्द्रीय समितिले गर्ने होइन, तालमेल गर्ने कि नगर्ने भन्ने निर्णय स्थानीय कमिटीबाटै हुन्छ ।”

पार्टी अन्य नेताहरुले भने कांग्रेस एक्लै आफ्नो तागतमा निर्वाचन लड्न सक्ने र लड्दै आएको भएपनि कम्युनिस्टहरु फेरि नाटकीय एकता गर्न सक्ने भएकाले त्यस्तो हुन नदिनका लागि समेत कांग्रेसले केही पार्टीहरुलाई साथै लिएर अघि बढेको बताए ।

Share This:
सम्बन्धित खबर
Loading...