काठमाडौँ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले निर्वाचनमार्फत् लोकतान्त्रिक प्रक्रियालाई सफल र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।
नयाँ वर्ष २०७९ का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले यस वर्षभित्र संघीय संरचनाअन्तर्गतका सबै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने दायित्व रहेको र प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचन नेपालको संघीय संरचनालाई स्थापित गराउन महत्वपूर्ण सावित हुने उल्लेख गरे ।
सबै निर्वाचनमा उत्साह, उमंग तथा उल्लासमयरुपमा सहभागी भइ लोकतान्त्रिक प्रक्रियालाई सफल र सुदृढ बनाउन प्रदेश प्रमुख गुरुङले अनुरोध गरेका छन् । विसं २०७८ राजनीतिक, आर्थिक र सामाजिक विकासका दृष्टिले उपलब्धिपूर्ण रहेको स्मरण गर्दै उनले कोभिड–१९ महामारीविरुद्ध सरकारले अवलम्बन गरेको प्रभावकारी प्रतिकार्य रणनीतिका कारण समयमै खोप अभियानको थालनी भएकाले मृत्युदरलाई न्यून राख्न सफल हुनुजस्ता कुरा सकारात्मक उपलब्धिका रुपमा रहेको बताए ।
देश संविधान कार्यान्वयनकै चरणमा रहेको र यसको मर्म, भावनाअनुसार गर्नुपर्ने धेरै काम भए पनि अझै यसले पूर्णता नपाएका कारण जनअपेक्षाअनुसार जनताप्रतिको जिम्मेवारी र उत्तरदायित्व पूरा गर्नुपर्नेमा जोड दिए ।
देशका प्राकृतिक सम्पदा एवम् मेहनती मानवीय संशाधनको समुचित र दिगो प्रयोग गर्दै मुलुकलाई समृद्ध एवम् समुन्नत बनाउने दायित्व रहेको उनको भनाइ छ ।