गभर्नर हटाउने निर्णयबारे ओलीको टिप्पणी : धान खाने मुसो, चोट पाउने भ्यागुतो

250

काठमाडौँ । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेकोमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्टि व्यक्त गरेका छन् ।

आज बिहान पार्टी प्रवेश कार्यक्रममा बोल्दै मुलुकको अर्थतन्त्र जोगाउन लागिपरेका एक राष्ट्रसेवकविरुद्ध सरकारले गरेको निर्णय निर्लज्जता रहेको टिप्पणी गरे ।

“हिजो मात्रै हामीले देख्यौँ, थुतुनाभरि रौँ भएको मुसाले धान खायो । एउटै रौँ नभएको भ्यागुतालाई कारबाही गर्यो । धान खाने मुसो, चोट पाउने भ्यागुतो भन्छन् नि ! त्यसमा पनि अनुहारमा रौँ भएको मुसाले कपाकप धान खायो । उसैले रौँ नभएकालाई कारबाही भयो,” उनले भने,“राष्ट्र बैंकको गभर्नरलाई कारबाही भयो, जसले देशको अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दैहुनुहुन्थ्यो ।”

उनले देश निर्लज्ज व्यक्तिहरुका हातमा पुगेको टिप्पणी गरे । गभर्नर अधिकारी अर्थतन्त्र बुझेको र अनुभवी राष्ट्रसेवक रहेको ओलीको भनाइ छ ।

“देश अत्यन्तै निर्लज्ज व्यक्तिहरुको हातमा परेको छ,” उनले भने,“देशको अर्थतन्त्र जोगाउन खोज्ने एउटा राष्ट्रसेवक, एउटा अर्थविद्, अर्थशास्त्री र राष्ट्र बैंकबाटै डेपुटी गभर्नरसमेत भएर अर्थतन्त्र बुझेका मान्छे । उनलाई निस्कासित गरियो ।”

त्यसपछि छानबिन गर्न बनाइएको समितिमा पनि माओवादी केन्द्रको छाँया रहेको ओलीले बताए । “माओवादीले नियुक्त गरेको, माओवादी निकट भनिएको एउटा न्यायाधीशको नेतृत्वमा छानबिन समिति बनायो । माओवादी भनेर जानिएको मान्छे,” उनले भने ।

बिहीबार मन्त्रिपरिषद् बैठकले अधिकारीमाथि छानबिन गर्ने निर्णय गर्दै समिति गठन गरेको थियो । पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...