काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘हाम्रो विद्यालय म बनाउँछु’ भन्ने अभियान सुरू गरिने बताएका छन् ।
दक्षिणकाली नगरपालिकास्थित सेतीदेवि माध्यमिक विद्यालयको वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री पौडेलले आगामी वर्षदेखि यो अभियान सुरू गरिने बताए ।
उनले सार्वजनिक शिक्षा सुधार गर्न विद्यालयका प्रध्यानध्यापक र शिक्षकको मुख्य भूमिका हुने उल्लेख गरे ।
‘हाम्रो परिवारको कुनै सदस्य बिरामी भएर अस्पताल लग्यौँँ भने उसको जीवन डाक्टरको हातमा हुन्छ,’ मन्त्री पौडेलले भने, ‘आज सार्वजनिक विद्यालय बचाउने र सुधार्ने जिम्मा प्रधानध्यापक र शिक्षकको हातमा बढी छ ।’
उनले लोक सेवा आयोगको परीक्षा पास गरेका कर्मचारीको तलब र सेवासुविधा शिक्षक सेवा आयोगको परीक्षा पास गरेका शिक्षकको भन्दा भिन्न रहेको बताउँदै एकै किसिमको बनाउने गरी पहल भइरहेको बताए ।
‘विद्यालय र शिक्षा प्रणाली सुधारको उद्देश्यसहित शिक्षकको सेवा सुविधा कर्मचारी सरहको बनाउने भनेका छौँ’ उनले भने ।
‘सार्वजनिक विद्यालयको शिक्षा बिग्रियो भन्नुभन्दा पनि शिक्षण पेशालाई मर्यादित व्यवसायको रुपमा अघि बढाऔँ’उनले भने, ‘पेशालाई मर्यादित बनायौँ भने शैक्षिक सुधार आफैँ हुन्छ ।’
शिक्षण पेशा नाफा कमाउने र तलब थाप्ने मात्र नभइ सेवासहितको डिउटी भएको उनको भनाइ छ ।
निजी शिक्षण संस्थाको उदाहरण दिँदै मन्त्री पौडेलले विद्यार्थी विद्यालयमा ल्याउन पढाइसँगै अभिभाककसँग नियमित छलफल र मेहनत गर्नुपर्ने बताए ।
‘पढाउने र अभिभावको घर घरमा पुगि मेहनत बढी गर्ने भएकाले निजी शिक्षण संस्थामा आकर्षण बढेको देखिन्छ’उनले भने, ‘सार्वजनिक शिक्षा सुधारका लागि शिक्षकले होम भिजिट गर्दै पढाउने विषयमा मेहनत गर्नुपर्यो ।’