अपराजित रहँदै नेपाले जित्यो टी–२० क्रिकेटको उपाधि

172

काठमाडौँ । घरेलु टोलीले नेपालले त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ ।

त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा पपुवा न्युगिनी (पिएनजी)लाई ५० रनले हराउँदै नेपालले सिरिजको उपाधि जितेको हो । यससँगै सन्दीप लामिछानेको कप्तानीमा नेपालले पहिलो पटक सिरिजको उपाधि जितेको छ ।

नेपालले अपराजित रहँदै सिरिजको उपाधि जितेको छ । नेपालले दिएको १६९ रनको लक्ष्य पछ्याएको पिएनजीले १६ ओभर १ बलमा अलआउट हुँदै ११८ रन मात्र बनाउन सक्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो ।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ खेले । उनले ३८ बलमा अविजित ५ चौका प्रहार गर्दा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो खेलाडी बने ।

आक्रामक ब्याटिङ गरेका करण केसीले अविजित रहँदै ३३ रन बनाए । उनले १२ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै नेपाललाई बलियो स्कोर खडा गर्न मद्दत गरे ।

पिएनजीविरुद्धको जितसँगै नेपालले टी–२० अन्तर्राष्ट्रियमा लगातार छैटौँ खेल जित्न सफल भएको छ । प्रतियोगिताको सिरिजमा नेपालका अलराउन्डर ऐरीले प्लेयर अफ द सिरिज घोषित भएका छन् ।

सिरिजको उपाधि जितेपछि नेपालका कप्तान सन्दीप लामिछानेले नेपाली टिमको मेहनतका कारण उपाधि हासिल गर्न सफल भएको बताए । उनले टिमका खेलाडीहरु फर्ममा रहेको बताए ।

त्यस्तै प्रशिक्षक नेपाली टोलीका प्रशिक्षक पुबुदु दसानायकेले उपाधि हासिल गर्दा खुसी लागेको भन्दै आगामी दिनमा पनि उत्कृष्ट नतिजा निकाल्ने बताए ।

Share This:
सम्बन्धित खबर
Loading...