सुद्धोधनका ८२ घरपरिवारलाई लालपुर्जा वितरण

98

कपिलवस्तु । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले एक वर्षभित्र गाउँब्लकको जग्गा सम्बन्धी सबै समस्या समाधान गरेर लालपुर्जा वितरण गरिसक्ने गरी योजना बनाएर काम अगाडि बढेको बताएकी छन् ।

कपिलवस्तुको सुद्धोधन नगरपालिका–६ को गाउँब्लकमा रहेका ८२ घरपरिवारलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गर्दै मन्त्री श्रेष्ठले गाउँब्लकमा रहेका सबै नागरिकले छिटो लालपुर्जा प्राप्त गरुन भनेर विशेष अभियानमार्फत् कामलाई तीव्र पारिएको बताइन् ।

मन्त्री श्रेष्ठले यसअघि योजनामा नै नरहेको गाउँब्लकमा लालपुर्जा वितरणको कामलाई आफूले मन्त्रालय सम्हालेपछि पहिलो प्राथमिकतामा राखेर आगाडि बढाएका कारण ४ महिनाको अवधिमा विभिन्न ठाउँका गाउँब्लकमा रहेका २० हजार भन्दाबढी भूमिहीनलाई लालपुर्जा वितरण गरिएको बताइन् ।

उनले भूमिसम्बन्धी सबै विषय छिटोभन्दा छिटो समाधान गर्न अहिलेको सरकार लागिरहेको र त्यसै अनुरुप भूमी चक्लाबन्दी गर्ने, कृषि योग्य जग्गा संरक्षण र उत्पादकत्व वृद्धि गर्न भूमिसम्बन्धी कानुन बनाउने काम भइसकेको पनि बताइन् ।

सरकारले सरकारी, सार्वजनिक, सामुदायिक र गुठीजग्गा संरक्षणको योजना बनाएर काम सुरु गरेको, वैज्ञानिक भूमिसुधारलाई लागु गरेर भूमिसम्बन्धी सम्पूर्ण समस्या समाधान गर्न अबको योजनामा नै व्यवस्था गर्न लागिएको पनि मन्त्री श्रेष्ठले बताइन् ।

भूमिहीन दलित तथा भूमिहीन सुकुमबासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगमार्फत् काम सुरु गरिसकेको र छिट्टै जिल्ला आयोग गठनको काम सम्पन्न हुने भन्दै बारम्बार उठिरहने भूमिसम्बन्धी समस्यालाई दिगो रुपमानै समाधान गर्न आफू लागिरहेको बताइन् ।

मन्त्री श्रेष्ठले हलीया, हरवा, चरवा, कमैया, कमलरीको समस्या समाधान गर्न अध्ययन समितिले स्थानीय तह, प्रदेश र संघले गर्ने काम समेटेर प्रतिवेदन तयार पारिराखेको र सोही प्रतिवेदनका आधारमा छिट्टै काम सुरु गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

Share This:
सम्बन्धित खबर
Loading...