यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

295

काठमाडौँ । सरकारले चीन सरकारले प्रस्ताव गरेको सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्राविधिक सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले चीन सरकारले प्रस्ताव गरेको आर्थिक तथा प्राविधिक सहायता सम्झौता अन्तर्गत प्राप्त हुने अनुदान सहायता र सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्राविधिक सहायता स्वीकार गर्ने निर्णय भएको जानकारी दिए ।

बैठकले अख्तियारका सचिव तोयम रायाको भारत भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ भने कतारको राजधानी दोहामा हुने दोहा फोरमको २०औँ संस्करणको सम्मेनलमा सहभागी हुन योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेल नेतृत्वको टोलीलाई स्वीकृत प्रदान गरेको छ ।

त्यस्तै, बैठकले नेपाल राजस्व परामर्श विकास समितिको सदस्यमा लेखनाथ शर्मा पंगेनी र जीवन अंगाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्ले नेपाल र चीनबीच ग्रीड आबद्धताको सम्भाव्यता अध्ययनसम्बन्धी सम्झौता स्वीकृत गरेको प्रवक्ता कार्कीले बताए ।

बैठकले दुग्ध विकास संस्थानको महाप्रबन्धक पदमा सञ्जिव झालाई नियुक्त गरेको छ भने जापानका लागि नेपालका पूर्वराजदूत केदारभक्त माथेमालाई जापान सरकारबाट प्राप्त हुने सम्मान ग्रहण गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता कार्कीले बताए ।

मन्त्रिपरिषद्ले लोकसेवा आयोग तथा न्याय सेवा आयोगको सिफारिसबमोजिम विभिन्न सेवा, समूहका राजपत्राङ्कित प्रथम श्रेणीका पदहरुमा नियुक्त तथा पदस्थापना गर्ने निर्णय गरेको छ भने दूरसञ्चार प्राधिकरणको सदस्य नियुक्तिको लागि सिफारिस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय भएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...