बाँकेमा उपचाररत २३ संक्रमितको अवस्था गम्भीर

279

राँझा । बाँकेमा रहेका दुई कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत २३ संक्रमितको अवस्था गम्भीर रहेको छ । भेरी अस्पताल नेपालगञ्जमा १६ जना र शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ७ गरी २३ संक्रमितको अवस्था गम्भीर रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, गम्भीर बिरामीमध्ये, एकजनाको भेन्टिलेटरमा र २२ जनाको आइसियूमा राखेर उपचार भइरहेको छ । भेरी अस्पतालको आइसोलेसनमा ५२ जना र शिक्षण अस्पताल कोहलपुरको आइसोलेसनमा ३४ गरी ८६ जना कोरोना बिरामीको उपचार भइरहेको छ । उपचाररत ८६ बिरामीमध्ये, २३ जना गम्भीर, ४१ जना मध्यम र २२ जना सामान्य बिरामी रहेको श्रेष्ठले बताए । बाँकेमा १ सय ७७ जना संक्रमित होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका छन् ।

बाँकेमा हालसम्म तीन हजार ४० जनामा कोरोना संक्रमण देखिएकोमा ३० जनाको मृत्यु भइसकेको छ भने दुई हजार ७ सय १२ जना उपचार पश्चात निको भएका छन् । जिल्लामा हाल २ सय ९८ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...