चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले चितवनको रामपुरमा काम रोकिएको अन्तर्राष्ट्रिय गौतमबुद्ध क्रिकेट रंगशाला सरकारको दायित्वभित्र आउन लागेको बताएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीदेखि सुरु गरेको दोस्रो राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले रंगशाला निर्माणको कार्य अघि बढ्ने बताए । उनले भने,“अब रंगशाला सरकार र राज्यको दायित्वभित्र जाँदैछ । मैले आफ्नो ठाउँबाट अघि बढाउनका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”
धुर्मुश–सुन्तली फाउन्डेसन पछि हटेपछि रंगशालाको काम रोकिएको छ । अध्यक्ष प्रचण्डले अन्तर्राष्ट्रियस्तरको फुटबल मैदान बनाउन आवश्यक भएको बताए । जिल्लामा अन्तर्राष्ट्रियस्तरको कभर्डहल बनाउन सम्बन्धित मन्त्रालयलाई बजेटको व्यवस्था गर्नका लागि पहल गर्ने उनले प्रतिबद्धता जनाए ।