धनगढी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले अध्यात्मिक चिन्तनमा लागेपनि मात्र मानिसलाई जीवनको महत्व थाहा हुने अनुभव सुनाएकी छन् ।
बुधबार धनगढीमा आयोजित सर्वोदय शान्ति पदयात्राको स्वागत सामारोहमा नेत्री डा.देउवाले मानिसको जीवनमा अध्यात्मको महत्व र आवश्यकतासम्बन्धी आफ्ना अनुभव सुनाएकी हुन् । उनले भनिन्,“अध्यात्ममा लागेपछि मानिसलाई नकरात्मक सोच र विचार त्याग्न मदत गर्दछ र हरेकको चिन्तनमा सकरात्मक सोच प्राप्त भएपछि मात्र समाज परिवर्तन सम्भव छ ।”
समाजमा कैयन ठुला परिवर्तन, विविध जटिल समस्या एवम् द्वन्द्वहरुको समाधानसमेत सकरात्मक सोचबाट मात्र सम्भव भएका अनेक दृष्टान्त प्रस्तुत गर्दै नेत्री डा.देउवाले,“अध्यात्मिक चिन्तन र व्यवहारले नै मानिसलाई आफ्नो जीवनका हरेक कठिनाइको सामना गर्न सहयोग पुग्दछ ।”
आफू बिरामी भएर करिब सात महिना जापान बसेका समयको अनुभव सुनाउँदै उनले भनिन्,“म बिरामी भएर जापानमा सात महिना बसेँ, त्यहाँ सबैसँग अन्तरक्रिया गर्न मलाई भाषाको समस्या थियो । त्यस समयमा म अध्यात्मिक विषयको अध्ययन र चिन्तनमा रमाउन पुगेँ । यसले मेरो उपचार प्रक्रियामा पनि आफैँलाई प्रेरणा प्राप्त भएको अनुभव गरेँ र जसले गर्दा म छिट्टै निको भएँ जस्तो मलाई लागेका छ ।”
उनले मानवीय जीवनमा नै डा.मणिभद्र मुनीजी महाराजको सन्देश, उपदेश तथा मन्त्रको ठुलो प्रभाव रहने विचार राखिन् ।
सो स्वागत कार्यक्रममा डा.मणिभद्र मुनीजी महाराजले साधानको माध्यमबाट मानिसले आफूलाई शान्त बनाउन प्रयास गर्नुपर्ने बताए । उनले अहिलेको वैज्ञानिक युगमा पनि अध्यात्मिक चिन्तन एवम् साधनको सबैभन्दा ठुलो शक्ति रहेको भन्दै मानिसले साधनाबाट नै धेरै प्राप्त गर्नसक्ने बताए ।