पाल्पा । अमेरिकी सहयोग परियोजना एमसीसी राष्ट्र हितका लागि रहेको प्रस्ताव पेस गरेको गृहमन्त्री बालकृष्ण खाणले बताएका छन् । विद्युतीकरण, बाटो निर्माणका लागि एमसीसी प्रस्ताव पेस गरेको बताउँदै यसले देशमा विकास हुने उनले जानकारी दिए ।
नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,“एमसीसी नेपालका लागि फाइदा छ । यसका कारण देशमा रोजगारी बढ्ने छ, गरिबी हट्ने र अन्तर्राष्ट्रिय व्यापार बढ्ने छ ।”
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका गृहमन्त्री खाणले एमसीसीका विषयमा भएका गलत प्रचार र भ्रमलाई अन्त्य गर्न जरुरी रहेकामा जोड दिए । उनले भने,“स्थानीय तहको निर्वाचन हुन्छ । सरकार निर्वाचनका तयारीमा लागेको छ । यही सरकारले नै स्थानीय, प्रदेश र संघ सरकारको निर्वाचन गराउने छ ।”
उनले सबै नेपालीको हकहित र राष्ट्रियता, उद्योगी, व्यवसायी सबै क्षेत्रका नागरिकका लागि कांग्रेस पार्टी आवश्यक रहेको जनाउँदै २४सैँ घन्टा होटल तथा रेष्टुरेन्ट व्यवसाय खुला गरिएको बताए ।