- साधना पन्त
बागलुङ । जिल्ला सहकारी संघ लिमिटेड दोलखा र जिल्ला सहकारी संघ बागलुङबीच शुक्रबार बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अध्ययन अवलोकनका लागि बागलुङ आएको दोलखा संघका पदाधिकारी तथा सदस्यहरु र जिल्ला सहकारी संघका पदाधिकारी तथा सदस्यहरुबीच छलफल भएको हो ।
सहकारी संघहरुले गरेका असल अभ्यासहरुका बारेमा जानकारी गराउनुका साथै एकले गरेका काम अर्को संघले अनुकरण गर्नुका साथै अन्यत्रसमेत जानकारी गराउन सहज हुने सो अवसरमा बताइएको थियो ।
जिल्ला सहकारी संघ दोलखाका तर्फबाट अध्यक्ष हेमन्त चौलागाईले संघले गरेका काम, भाबी योजना र दोलखाको सहकारी अभियानका बारेमा जानकारी गराएका थिए ।
संघले सदस्य संस्थाहरुको संस्थागत विकास, संस्थाका सञ्चालक तथा कर्मचारीहरुको क्षमता विकास लगायत सहकारी अभियानको प्रवर्द्धनका लागि निरन्तर रुपमा काम गर्दै आएको र सहकारीको साख बढाउन महत्वपूर्ण भूमिका खेलेको उनले जानकारी गराएका थिए ।
सहकारी अभियानले सञ्चालन गरेका कार्यक्रमहरुले देशको आन्तरिक पर्यटनमा समेत योगदान गरेको चौलागाईको भनाइ थियो ।
चौलागाइले फागुन १८ गतेबाट दोलखाबाट पश्चिमका सहकारीहरुको अवलोकन भमण गर्दै बागलुङसम्म आएको बताए । उनले सहकारीले गरेका सकारात्मक कामहरुलाई लिएर दोलखाका सहकारीमा कार्यान्वयन गर्ने र पर्यटन प्रवर्द्धनमा केही सहयोग गर्ने उद्देश्यका साथ सहकारी संघले भमण गरेको बताए ।
जिल्ला सहकारी संघ बागलुङले सञ्चालन गरेका कार्यक्रम, योजना तथा समन्वयका बारेमा संघका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमाकुमारी जिसी (अञ्जु)ले जानकारी गराएकी थिइन् ।
जिल्ला सहकारी संघ बागलुङले सहकारीहरुको प्रवर्द्धन लगायत समुदायमा सहकारी अभियानप्रति सकारात्मक धारणा सिर्जना गर्न निरन्तर काम गर्दै आएको उनले बताइन् ।
जिल्ला सहकारी संघले रणनीतिक योजना बनाएर आफ्ना गतिविधि अगाडि बढाएको जानकारी गराउँदै अध्यक्ष जिसीले बागलुङ जिल्लाका १० वटै पालिकामा सञ्चालित सहकारीहरुको अवस्था झल्कने गरी प्रोफाइल प्रकाशन गर्न लागिएको जानकारी गराइन् ।
भेटघाट कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सहकारीकर्मीहरुबीचको अन्तरक्रियाले सहकारीको प्रवर्द्धनमा सहयोग पुग्नुका साथै सहकारी पर्यटनको विकासमा समेत योगदान पुग्ने धारणा राखे ।
धौलागिरी क्षेत्रमा सहकारी अभियानको प्रवर्द्धनका लागि जिल्ला सहकारी संघ बागलुङले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको र आगामी दिनमा थप व्यवस्थित गराउनका लागि संघलाई सुझाव दिएका थिए ।