काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जीवनमा धेरैको सहयोग पाएको बताएका छन् ।
७१औँ जन्मदिनमा भक्तपुरमा बुधबार आयोजित ‘समवेत दृष्टि’नामक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूलाई सबैको सहयोग भएको उल्लेख गरे ।
“म भाग्यमानी व्यक्ति हुँ, यति धेरै विद्वान, चिन्तक, लेखक, कलाकारहरुको र सिर्जनाकारहरुको श्रमजीविहरुको, सिर्जनात्मक प्रतिभाको साथ पाएको छु,” उनले भने, “कहीँ अलमल हुँदा पनि आवाज आउने गरेको छ, अलमल नगर ।”
अध्यक्ष ओलीले आफू देश र जनताकै लागि संघर्ष गरिरहेको र जनताकै बलमा एमाले अध्यक्ष र प्रधानमन्त्रीसमेत भएको भन्दै एमालेमाथि अहिले जालझेल भएपनि जनताले पुन एमालेलाई नै ल्याउने दाबी गरे ।
“देश र जनताका लागि बनेको पार्टी भएकाले एमालेलाई फेरि जनताले नै राज्य सञ्चालन गर्ने ठाउँमा पुर्याउनेछन्,” उनले भने । आफू जेलमा पर्दा पनि जनताले नै निकालेको भन्दै उनले जनताको आशिर्वाद सबैभन्दा ठुलो भएको बताए । कसैले एकछिन गुटहरु मिलेर जालझेल गरेर एमालेलाई लडाउन खोजेपनि जनताको साथका कारण एमाले पुनः उठ्ने ओलीको भनाइ छ ।
आफ्नो मनोबल नखस्केको भन्दै उनले नभएको कुरामा चिन्ता गरेर कमजोर हुने काम आफूले नगरेको बताए । “मैले चिन्ता होइन, संकल्प लिन्छु, पार्टी मसँग छ, नेता, कार्यकर्ता र जनता छन् । बाँकी जिन्दगी अटुट रहन्छ,” ओलीको भनाइ छ ।
रुसी कथाको सन्दर्भ लिँदै उनले जमिन छोड्दा सर्वोच्चले आफूहरुलाई पछारेको पनि बताए ।
“एउटा रुसी कथामा लेख्छ– यदि एउटा योद्धा यस्तो छ, जसलाई हराउनै सकिँदैन । एउटै सर्तमा मात्रै ऊ हार्छ । उसलाई जमिनबाट छुटायो भने । अथवा जमिनबाट माथि उठायो भने निर्वल भइहाल्छ । जमिन छुन पायो कि ऊ बलियो हुन्छ,” ओलीले भने,“अलिकति जमिनबाट छुटायो भने त सर्वोच्च अदालतमा पनि लगेर ४ जना न्यायाधीशले पछार्दा रहेछन्, एमाले जस्तो पार्टीलाई । अलिकति मौका मिल्यो भने ।”
उनले सधैँभरि उचालेको उचाल्यै नहुने भन्दै आफूहरुले जमिन छुने बताए । “जमिनमा टेकिहाल्छौँ र जनतासँग एकाकार भइहाल्छौँ,” उनले भने ।
अध्यक्ष ओलीले एमालेले युद्ध नहारेको दाबी गरे । “एमालेले एउटा मोर्चामा हारेको हुनसक्छ । तर, त्यत्तिले युद्धको हार हुँदैन । हामीले समग्र युद्ध हारेका छैनौँ । एउटा मोर्चा हारेका हौँ । त्यसैले हामी आउँछौँ ,” उनले भने ।
ओलीले सम्बोधनका क्रममा एमालेले राष्ट्र र जनताविरुद्ध काम नगर्ने पनि बताएका छन् ।
“सबै जनताका लागि काम गर्छौँ । हामी राष्ट्रविरुद्ध, जनताविरुद्ध काम गर्दैनौँ,” उनले भने,“मेरो बाँकी जिन्दगी सम्पूर्ण रुपमा देशप्रति, जनताप्रति समर्पित हुने छ । मानव जातिको हितमा समर्पित हुने छ ।”
उनले इतिहास झल्किने र आधुनिकता टल्किने एमालेको नीति रहेको पनि बताए ।