काठमाडौँ । ब्रिगेड ब्वाइज क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलबाट रेलिगेसनमा परेको छ ।
सोमबार भएको खेलमा सातदोबाटो युथ क्लबसँग ३–२ गोल अन्तरले पराजित भएपछि ब्रिगेड रेलिगेसनमा परेको हो ।
ब्रिगेड यस सिजन रेलिगेसनमा पर्ने दोस्रो टोली हो । यसअघि च्यासल युथ क्लब रेलिगेसनमा परिसकेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सातदोबाटोलाई जित दिलाउन सुशील राई, दिपक राजसिंह ठकुरी र निरज चौधरीले एक–एक गोल गरे । ब्रिगेडका बेर्टरान्ड इबोडे ओट्टोउ र रोशन राना मगरले एक एक गोल फर्काए ।
खेलको १३औँ मिनेटमा सुशीलले गोल गर्दै सातदोबाटोलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको १६औँ मिनेटमा बेर्टराण्डले गोल गर्दै ब्रिगेडलाई १–१ गोलको स्थितिमा ल्याए ।
खेलको १८औँ मिनेटमा दीपकले ग गर्दै सातदोबाटोलाई २–१ को अग्रता दिलाए । त्यस्तै, खेलको ५१औँ मिनेटमा रोशनले गोल गर्दै ब्रिगेडलाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ८७औँ मिनेटमा निरजले गोल गर्दै सातदोबाटोलाई ३–२ को जित दिए ।