मनाङ एनआरटीसँग स्तब्ध

221

काठमाडौँ । कतार एयरवेज सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब पराजित भएको छ ।

आइतबार भएको खेलमा आठ पटकको च्याम्पियन मनाङ न्युरोड टिम एनआरटीसँग १–० गोल अन्तरले पराजित भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एनआरटीलाई जित दिलाउन मेसुके ओलुमोउले निर्णायक गोल गरे । खेलको २६औँ मिनेटमा मेसुकेले गरेको गोलबाट एनआरटीले तीन अंक जोडेको हो । दर्शन गुरुङको फ्रि–किक बललाई नियन्त्रणमा लिँदै मेसुकेले गोल गरेका हुन् ।

यस जितसँगै एनआरटीले १२ खेलमा २० अंक जोडेको छ । एनआरटी लिगको दोस्रो स्थानमा उक्लिएको छ । मनाङले १२ खेलमा २० अंक जोडेको छ । मनाङ तेस्रो स्थानमा झरेको छ ।

यस्तै आइतबार नै भएको अर्को खेलमा जावलाखेल युथ क्लबले हिमालयन शेर्पा क्लबलाई हराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा जावलाखेलले हिमालयनलाई २–१ गोल अन्तरले हराएको हो ।

जावलाखेललाई जित दिलाउन रुप बहादुर लामा र ओन्गुना जुनियरले एक एक गोल गरे । हिमालयनका अमृत श्रेष्ठले एक गोल फर्काए ।

यस जितसँगै जावलाखेलले रेलिगेसनबाट जोगिने सम्भावना बलियो बनाएको छ । जावलाखेलले १२ खेलमा १३ अंक जोडेको छ । हिमालयनले १२ खेलमा १३ अंक नै जोडेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...