काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गत नेपालले फिलिपिन्समाथि फराकिलो जित हात पारेकाे छ । शनिबार लगातार दोस्रो जित निकाल्ने क्रममा नेपालले २१९ रनको विजयी लक्ष्य पछ्याएको फिलिपिन्सलाई ८२ रनमा रोक्दै १३६ रनको विशाल जित हात पारेको हो ।
टी–२० क्रिकेटमा नेपालको यो तेस्रो ठुलो जित हो । यसअघि गत अप्रिलमा नेपालले कीर्तिपुरमा भएको त्रिदेशीय सिरिजमा नेदरल्यान्ड्सलाई १४२ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।
दुई वर्षअघि तेस्रो दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले भुटानलाई १४१ रनले हराएको थियो । त्यसपछि नेपालको यो नै ठुलो जित हो ।
अंक तालिकामा नेपाल ४ अंकसहित शीर्ष स्थानमा छ । क्यानडा र ओमानको समान २–२ अंक भएपनि रनरेटका आधारमा क्यानडा दोस्रो र ओमान तेस्रो स्थानमा छ ।
नेपालले दिएको २१९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ८२ रन मात्रै बनाउन सक्यो ।
फिलिपिन्सका ब्याटर जोर्डन एलेग्राले सर्वाधिक २७ रनको अविजिति पारी खेले । यस्तै, दानिएल स्मिथल २० तथा जोनाथन हिलले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
फिलिपिन्सलाई सस्तैमा रोक्ने क्रममा नेपालका कप्तान सन्दीप लामिछानेले ३, गुल्सन झा, जितेन्द्र मुखिया, अभिनाश बोहरा, कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।
यसअघि, ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २१८ रनको योगफल तयार गर्यो ।
दोस्रो ओभरमै ओपनर आशिफ शेखलाई गुमाएको नेपालका लागि तेस्रो नम्बरमा ब्याटिङमा आएका कुशल मल्ल पनि मात्रै १२ रन बनाएर पेभेलियन फर्केका थिए ।
यद्यपि, तेस्रो विकेटका लागि ओपनर कुशल र दीपेन्द्रसिंह ऐरीले १७१ रनको कीर्तिमानी साझेदारी गर्दै नेपाललाई ठुलो योगफलतर्फ डोर्याए । फिलिपिन्सविरुद्ध कुशल र दीपेन्द्रको यो साझेदारी टी–२० अन्तर्राष्ट्रियमा नेपालका लागि सबैभन्दा ठुलो हो ।
यसअघि नेपालका पूर्वकप्तान पारस खड्का र आरिफ शेखले २८ सेप्टेम्बर २०१९ मा सिंगापुरविरुद्ध एक सय ४५ रनको साझेदारी गरेका थिए ।
फिलिपिन्सविरुद्ध आक्रामक शैलीमा प्रस्तुत भएका कुशलले ६१ बलमा १३ चौका र १ छक्कासहित १ सय ४ रनको अविजित इनिङ खेल्दा दीपेन्द्र ४७ बलमा ६ चौका ४ छक्कासहित ८३ रन बनाएर पेभेलियन फर्के । यस्तै पहिलो बलमै छक्का प्रहार गरेका लोकेश बम ३ बलमा ६ रन बनाएर अविजित रहे ।
अब अन्तिम खेलमा नेपालले सोमबार क्यानडाको सामना गर्ने छ । अंक तालिकाको शीर्ष दुईमा रहने टोलीले सेमिफाइनलमा प्रवेश गर्ने छन् ।
कुशल भुर्तेलको शतक
नेपालका ब्याटर कुशल भुर्तेलले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा पहिलो शतक प्रहार गरेका छन् । आइसिसी पुरुष टी–२० विश्वकप छनोटअन्तर्गत शनिबार फिलिपिन्ससँगको खेलमा भुर्तेलले शतक प्रहार गरेका हुन् ।
टी–२० क्रिकेटमा यसअघि नेपालका पूर्वकप्तानद्वय पारस खड्का र ज्ञानेन्द्र मल्लले मात्रै शतक प्रहार गरेका थिए । भुर्तेलले आठौँ अन्तर्राष्ट्रिय खेलमै शतक प्रहार गर्न सफल भएका हुन् ।
६१ बलको सामना गरेका भुर्तेलले १३ चौका र एक छक्काको मद्धतमा १०४ रनको पारी खेलेका थिए ।