काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पार्टीले जिम्मेवारी दिए पुनः महानगरको प्रमुखमा आफ्नो दाबेदारी रहने बताएका छन् ।
बिहीबार काठमाडौँ महानगरपालिका–२१ वडामा निर्माणाधीन गोफल टोलस्थित श्रीधर नारायण परिसरको फाल्चा र पार्कको शिलान्यास कार्यक्रममा बोल्दै मेयर शाक्यले यस्तो बताएका हुन् । उनले पार्टीले जिम्मेवारी दिए र महानगरवासीको सहयोग रहेमा पुनः आफ्नो दाबेदारी रहेको बताए ।
मेयर शाक्यले आफ्नो कार्यकालमा धेरै स्थानमा सांस्कृतिक सम्पदाहरुको शिलान्यास गरिएको र सम्पदा निर्माणको काम चाँडै सकेर उद्घाटन गरिने पनि बताए ।
“आगामी निर्वाचनका लागि अहिले नै उम्मेदवारी दिन्छु भनेर त नभनौँ । म एउटा पार्टीको कार्यकर्ता हो । पार्टीले आवश्यकताअनुसार कुन जिम्मेवारी दिने हो, त्यो पार्टीले निर्णय गर्ने कुरा हो,” उनले भने,“महानगरवासीको चाहना के छ ? त्यो पार्टीले बुझेर जिम्मा दिए काम गर्ने हो । होइन भने पार्टीले जसलाई जिम्मा दिए पनि काठमाडौँ महानगरपालिका हामी जित्ने गरेर तयारी अवस्थामा छौँ ।”
महानगर प्रमुख शाक्यले विकास निर्माणका काम निरन्तर रुपमा चल्ने बताए । विकास निर्माण सकियो भन्न नहुने उनको भनाइ थियो ।