काठमाडौँ । लेखक गनेस पौडेलले पोखरा महानगरपालिकाको प्रमुखमा उठ्ने घोषणा गरेका छन् ।
बुधबार चर्चित उपन्यास ‘पैताला’का लेखक पौडेलले सामाजिक सञ्जालमार्फत आगामी स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकाबाट मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेको जानकारी दिएका हुन् ।
“जित वा हारभन्दा पर पनि एउटा लडाइँ हुन्छ,” पौडेलले लेखेका छन्, “दशकौँको बहुमतले समेत कहिल्यै समेट्न नसकेको एकथरी ‘अटेरी’ मत हुन्छ। म त्यो लडाइँमा जाँदैछु।”
आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने घोषणा भएको छ । सो निर्वाचनमा आफूले पनि ‘अटेर’ गरेर उम्मेदवारी दिने निर्णय गरेको पौडेलले बताएका छन् ।
उनी लेख्छन्,“यसपटक ‘अटेर’ गर्दै छु। आसन्न स्थानीय निर्वाचनमा पोखरा महानगर पालिकाबाट मेयरको पदमा उम्मेदवारी दिने निर्णय गरेको छु । आउनुस् केही गरौँ । अति भो ‘अटेर’ गरौँ ।”
पौडेल नेपाली साहित्य क्षेत्रमा लोकप्रिय छन् । उनको कृति पैताला धेरै रुचाइएको कृति हो । पछिल्लो पटक उनको अनुवादमा ‘मुसा मानुस’ प्रकाशित छ ।