नक्कली पिसिआर रिपोर्ट बनाउने कान्तिपुर र नागरिक सामुदायिक अस्पतालका ४ जना पक्राउ

152

काठमााडौँ । काठमाडौँको तीनकुनेमा सञ्चालित कान्तिपुर अस्पताल र भक्तपुरको नागरिक कम्युनिटी टिचिङ अस्पतालको ल्याबले नक्कली पिसिआर रिपोर्ट बनाउने गरेको खुल्न आएको छ ।

कोभिड–१९ परीक्षणको पिसिआर रिपोर्ट ‘नक्कली’ बनाएको आरोपमा महानगरीय अपराध महाशाखा काठमाडौँको टोलीले नक्कली पिसिआर रिपोर्टसहित ४ जनालाई पक्राउ गरेको छ ।

दुवै अस्पतालले वैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि आवश्यक पर्ने पिसिआर रिपोर्ट नेपाल सरकारले तोकेभन्दा बढी रकम लिइ स्वाबको नमुनासमेत नलिइ नक्कली पिसिआर रिपोर्ट बनाउने गरेको पाइएको छ ।

प्रहरीका अनुसार बिचौलिया र ल्याबका कर्मचारी एवम् व्यवस्थापनको मिलेमतोमा विदेश जाने व्यक्तिहरुलाई पिसिआर रिपोर्ट नेगेटिभ बनाइ दिने भनि प्रतिव्यक्ति १० हजारसम्म असुल्ने गरेको भेटिएको छ ।

नक्कली पिसिआर रिपोर्ट बनाउने गरेको सूचनाका आधारमा मंगलबार बिहान साढे १० बजेतिर नागरिक कम्युनिटी टिचिङबाट जारी भएको ८ थान नक्कली पिसिआर रिपोर्टसहित सो अस्पतालका कर्माचारी रोशनकुमार छिट्टानलाई एयरपोर्टबाट र अर्का कर्मचारी हस्पिटलबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । सोही अस्पतालका ल्याबका प्रबन्धक प्रसन्नकुमार झा पक्राउ परेका छन् ।

यस्तै, कान्तिपुर अस्पतालका कर्मचारीको परिचयपत्र भएका नगेन्द्रकुमार यादवलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । उनको साथबाट १७ थान नक्कली पिसिआर रिपोर्टसहित अस्पताल अगाडिबाट नियन्त्रणमा लिएको हो । त्यस्तै, सोही अस्पतालका ल्याबका कर्मचारी माधव मैनालीलाई पनि ४ थान नक्कली पिसिआर रिपोर्टसहित पक्राउ गरेको हो ।

कान्तिपुर अस्पतालका सञ्चालक निर्मल गिरी र नागरिक कम्युनिटी अस्पतालका पिसिआर ल्याब सञ्चालक भावेश मिश्र फरार छन् ।

दुवै अस्पतालका पिसिआर ल्याब सिल गरी पिसिआरसम्बन्धी सबै सेवा हाललाई बन्द गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दुवै अस्पतालका ल्याबहरुले कतिपय व्यक्तिको स्वाब र परीक्षणबिनै नेगेटिभ पिसिआर रिपोर्ट दिने गरेको अनुसन्धानबाट खुलेको छ । यस्तै, उक्त ल्याबहरु कार्यरत भनिएका विशेषज्ञ चिकित्सकले रिपोर्ट नै नहेरी आफ्नो डिजिटल सिग्नेचर प्रयोग गरी रिपोर्ट दिने गरेको पाइएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...