सुरु भयो अनलाइन भन्सार महसुल तिर्ने प्रणाली, अर्थमन्त्रीले भने– ‘नयाँ युग’को सुरुवात

313

काठमाडौँ । भन्सार महसुलको विद्युतीय भुक्तानी (इपेमेन्ट) प्रणालीको अर्थमन्त्री जनार्दन शर्माले बुधबार सुरुवात गरेका छन् । ७०औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित एक समारोहका बीच उनले सो प्रणालीको शुभारम्भ गरेका हुन् ।

इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत् नै तिर्न सक्ने भएका छन् । यसले घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व सङ्कलनमा समेत सहजता प्रदान गर्ने मन्त्री शर्माले विश्वास व्यक्त गरे । योसँगै ‘नयाँ युग’को सुरुवात भएको पनि उनले बताए ।

“व्यापार सहजीकरण, सेवाग्राही र कर्मचारीको समय बचतलगातयका लागि यसले महत्वपूर्ण औजारको रूपमा काम गर्ने छ,” उनले भने, “यसले भन्सारमा काम गर्ने कर्मचारीहरूको काममा सुधार गर्न पनि मद्धत गर्नेछ ।”

त्यस्तै उनले भन्सार बिन्दुमा चाँडै ‘भेकल स्क्यानर’ प्रयोग गरिने पनि जानकारी दिए । उनले भन्सारको निरन्तर सुधार अन्तर्गत भेकल स्क्यानर ल्याउने कार्य अन्तिम चरणमा पुगेको बताए ।

मन्त्री शर्माले भेकल स्क्यानर मालवस्तुको जाँचका लागि मात्र प्रयोग नभएर राष्ट्रिय सुरक्षाको कुरासँग पनि जोडिने उल्लेख गरे । “हामीले इपेमेन्टको सुरुवात गरेका छौँ । छिट्टै नै हामी प्रमुख भन्सारहरूमा स्क्यानरको पनि सुरुवात गर्नेछौँ,” उनले भने, “कुन माल वस्तु आयो भनेर छुट्याउने कुरा मात्र होइन राष्ट्रिय सुरक्षाका लागि त्यो महत्वपूर्ण साधन हुने छ ।”

सबै वस्तु आवश्यक पर्ने मात्र नआउने बताउँदै उनले नेपाल र छिमेकी राष्ट्रहरूको सुरक्षामा खतरा हुन सक्ने वस्तुको निगरानीका लागि पनि स्क्यानर महत्वपूर्ण हुने उल्लेख गरे ।

समारोहमा अर्थसचिव मधुकुमार मरासिनीले प्रविधि ल्याएर मात्र नहुने उल्लेख गर्दै त्यसको सञ्चालनका लागि दक्ष जनशक्ति तथा निरन्तर अभ्यास एवम् तालिमको व्यवस्था हुनुपर्नेमा जोड दिए ।

त्यस्तै भन्सार सुधारबाट अर्थतन्त्रमा ७० प्रतिशत योगदान गर्ने निजी क्षेत्र बढी लाभान्वित हुने भन्दै यस्ता सुधारमा निजी क्षेत्रको सहयोगको खाँचो समेत औँल्याए ।

Share This:
सम्बन्धित खबर
Loading...