काठमाडौँ । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसीले सरकारले अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आइतबार काठमाडौँमा गरेको साक्षात्कारमा केसीले संविधानले स्थानीय जनप्रतिनिधिहरुको पदावधिक पाँच वर्षको भनेर तोकेकाले सरकारले बिलम्व नगरी स्थानीय तहको निर्वाचनको मिति सार्वजनिक गर्नुपर्ने बताएका हुन् ।
स्थानीय तहपछि नै अन्य तहको निर्वाचन गर्नुपर्ने उनको भनाइ छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ ले पदावधि सकिनुभन्दा २ महिना अगावै त्यो निर्वाचन गरिसक्नुपर्ने उल्लेख गरिएको उनले बताए ।
“आवधिक चुनाव हुनुपर्छ । स्थानीय जनप्रतिनिधिहरुको समयावधि अब सकिँदै छ । निर्वाचन वैशाखमै गर्नुपर्छ । नेपाल सरकारले निर्वाचन आयोगसँग परामर्श गरेर मिति दिनुपर्छ । स्थानीय तह निर्वाचन ऐनअनुसार वैशाखभन्दा अगावै निर्वाचन हुनुपर्छ । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ ले पदावधि सकिनुभन्दा २ महिना अगावै त्यो निर्वाचन गरिसक्नुपर्ने भनिएको छ । फागुनको मितिमा निर्वाचन हुनुपर्छ भनेर स्थानीय तह निर्वाचन ऐनले भनेको छ,” उनले भने ।
उनले एक दिन पनि स्थानीय तहको सरकार खाली राख्न नहुने तर्क गरे । २०७९ निर्वाचनको वर्ष भएकाले सरकारले प्रक्रियागत रुपमा निर्वाचन गरेर जानुपर्ने पनि उनको सुझाव छ ।