विगत ७ वर्षदेखि गुणस्तरहीन मह उत्पादन, दर्ता नै नभएको ‘स्पर्स हनी’ लेबल टाँसी खुलेआम बिक्री वितरण !

138

काठमाडौँ । काठमाडौँमा गुणस्तरहीन महको उत्पादन र बिक्री गर्ने एकजना पक्राउ परेका छन् । उपत्यकाका विभिन्न स्थानहरुमा गुणस्तरहीन महको उत्पाद एवम् बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारेर एक जनालाई पक्राउ गरेको हो ।

बिहीबार महानगरीय अपराध महाशाखाको विशेष टोलीले काठमाडौँ महानगरपालिका–२७ ज्याठा बस्ने ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नरबहादुर श्रेष्ठलाई मिसावट गरी गुणस्तरहीन मह बनाइरहेका अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनी ‘नतिजा प्याकेजिङ’का सञ्चालक हुन् ।

मिसावट गरी गुणस्तरहीन मह बनाइरहेकै अवस्थामा पक्राउ परेको श्रेष्ठको साथबाट मह बनाउनका लागि प्रयोग गरिने विभिन्न प्रकारका सामाग्री, मेसिन, केमिकलहरु र गुणस्तरहीन ७ हजार ६०० किलो तयारी मह र कच्चा महसमेत बरामद गरेको छ ।

श्रेष्ठमाथि प्रारम्भिक अनुसन्धानपश्चात थप अनुसन्धान कारबाहीका लागि शुक्रबार महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको महाशाखाले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनले गुणस्तरहीन मह बनाउनका लागि ३० प्रतिशत ग्लुकोज, ३० प्रतिशत चिनी र बाँकी ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्च पदार्थ मिसावट गरेको पाइएको महाशाखाले जनाएको छ ।

विगत् ७ अगाडिदेखि श्रेष्ठले निजको श्रीमती रस्मिला श्रेष्ठको नाममा ‘नतिजा प्याकेजिङ’ सञ्चालन गरी उक्त गुणस्तरहीन मह बनाइ बिक्री वितरण गर्दै आएको खुलेको हो ।

उनले नतिजा प्याकेजिङको नाममा कम्पनी दर्ता गरे पनि स्पर्स हनी नामको लेबल टाँसी बिक्री वितरण गर्ने गरेको प्रहरीले जनाएको छ । उक्त मह काठमाडौँ, भक्तपुर र पोखराका होटल, रेष्टुरेन्टहरुमा थोक तथा खुद्रा बिक्री वितरण गर्ने गरेको पाइएको छ । तर, उक्त स्पर्स हनी भन्ने ब्रान्ड दर्तासमेत नभएको प्रहरीको ठहर छ ।

Share This:
सम्बन्धित खबर
Loading...