चिया उद्योगमा आगलागी हुँदा १० करोडको क्षति

319

इलाम । इलामको सूर्योदय नगरपालिका–४ अन्तुमा रहेको इलाम टी प्रोडुसर्स प्रालिको अन्तुभ्याली चिया कारखानामा आगलागी हुँदा चिया उद्योग सम्पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

आगलागीबाट ११० फिट लम्बाइ ७० फिट चौडाइ रहेको चिया उद्योग जलेर नष्ट भएको छ । आगलागीबाट उद्योगमा रहेको दुईवटा ड्रायर मेसिन, पाँचवटा रोलिङ टेबुल, तीनवटा हिटर मेसिन, पाँचवटा सर्टिङ मेसिन,२४ वटा वेदरिङ ट्रफ जलेर नष्ट भएको छ ।

आगलागीबाट उद्योगमा स्टक गरी राखिएको ८० हजार किलोभन्दा बढी तयारी चिया पनि जलेर नष्ट भएको इलाम टी प्रोडुसर्स प्रालिका प्रबन्धक ओमकार काफ्लेले जानकारी दिए । चिया उद्योगमा आगलागी हुँदा कार्यालय भवन, स्टाफ क्वार्टर र जेनेरेटर रुम बाहेक अरू सबै संरचना नष्ट भएको छ ।

आगलागीबाट भवन, मेसिन उपकरण र तयारी चिया समेत गरेर १० करोडभन्दा बढीको क्षति भएको काफ्लेले जानकारी दिए । चिया उद्योगमा दिउँसो ३ बजेतिर आगलागी भएको थियो ।

आगो नियन्त्रणका लागि सूर्योदय नगरपालिका, इलाम नगरपालिका, मेचीनगर नगरपालिका, भद्रपुर नगरपालिकाको दमकलसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरेको भए पनि उद्योग पूर्णरुपमा जलेको छ ।

उद्यमी अशोक मुरर्काको सो उद्योग दैनिक १५ हजार किलो हरियो पत्ति प्रशोधन गर्ने क्षमताको थियो । २०५३ सालमा स्थापना भएको इलाम टी प्रोडुसर्स प्रालिको उद्योग निजी क्षेत्रबाट स्थापना भएको दोस्रो चिया कारखाना हो ।

Share This:
सम्बन्धित खबर
Loading...