म सधैँभरि कप्तान बन्न आएको होइन : ज्ञानेन्द्र मल्ल

106

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले विभिन्न कारण देखाएर आफूलाई कप्तानबाट हटाउँदा दुःख लागेको बताएका छन् ।

मंगलबार टियु क्रिकेट मैदान मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै मल्लले विभिन्न आरोपहरु लगाएर हटाउँदा दुःख लागेको बताए । आफूले धेरै वर्ष क्रिकेटलाई दिएको र बिना कारण विभिन्न कुराहरु निकालेर आरोप लगाउनु दुःखको विषय भएको उनको भनाइ छ ।

नेपाल क्रिकेट संघ (क्यान)लाई आफूहरुले सदैव सम्मान गर्ने भन्दै उनले बोर्डको विरुद्धमा जाने, बोर्डलाई निच बनाउने कहिले नरहेको जिकिर गरे । मल्लले आफू सधैँ कप्तान बन्न नआएको र आफू सधैँ देशको लागि र आफ्नो लागि खेल्ने बताए ।

मल्लले वर्गीकरणकै कारण क्यान र खेलाडीबीच समस्या उत्पन्न भएको पनि बताए । नेपाली क्रिकेट अघि बढाउन एक जुट भएको भन्दै उनले टिमका खेलाडीबीच कुनै मनमुटाब नभएको उल्लेख गरे ।

असन्तुष्ट खेलाडी र क्यानबीच सहमति भएपछि आसन्न ग्लोबल छनोटका लागि सबै खेलाडी बन्द प्रशिक्षणमा जुटेका छन् ।

खुट्टाको चोटका कारण सागर ढकाल र हाल बिग ब्यास लिगका लागि अष्ट्रेलियामा रहेका सन्दीप लामिछानेबाहेक सबै खेलाडी मंगलबारदेखि प्रशिक्षणमा फर्किएका छन् ।

यसअघि क्यानले कारबाहीमा राख्दै कप्तानबाट ज्ञानेन्द्र मल्ल र उपकप्तानबाट दिपेन्द्रसिंह ऐरीलाई हटाएको थियो भने सोमपाल कामी र कमलसिंह ऐरीलाई पनि ६ महिना केन्द्रीय सम्झौतामा नराख्ने निर्णय गरेको थियो ।

त्यसपछि उत्पन्न भएको विवादमा बारम्बारको छलफलपछि क्यान र खेलाडीले केही लचकता अपनाउँदै विवाद समाधानमा पुगेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...