काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले सभामुख र सरकारको अकर्मण्यताका कारण संसद् अवरुद्ध गर्नुपरेको जनाएको छ ।
मंगलबार बसेको राष्ट्रियसभाको अधिवेशन अन्तर्गतको पहिलो बैठकमा एमालेले कारबाही गरेका सांसद्लाई सभामुखले नहटाएको प्रति विरोध गर्दै एमाले राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले सभामुख र सरकारका अकर्मण्यताका कारण गलत दिशामा देशको राजनीति गइरहेको र बाध्य भएर संसद् अवरुद्ध गर्नुपरेको बताएका हुन् । उनले सरकार र सभामुखले संसद् चलाउन नचाहेको आरोपसमेत लगाए ।
देश सरकारविहीनताको अवस्थामा रहेको भन्दै अहिले जनताले सरकार छ र ? भन्न थालेको समेत बताए । सांसद् भट्टराईले सरकार मन्त्री र उनीहरुको परिवारका लागि मात्रै भएको बताए ।
“हिउँदे अधिवेशनको पहिलो दिनमा स्वागत, शुभकामना आदानप्रदान कार्यक्रम नहुनु गम्भीर विषय बनेको छ । देश संघीयता, लोकतन्त्रको व्यवस्थाअनुरुप चल्न सकेको छैन । देश सरकारको अकर्मण्यता र सभामुखको अकर्मण्यताका कारण देशको राजनीति गलत दिशामा अघि बढिरहेको छ । देश सरकारविहीनताको अवस्थामा रहेको छ अहिले जनताले सरकार छ र ? भन्न थालिसकेका छन् । सरकार मन्त्रीहरु र उनीहरुको परिवारका लागि मात्रै भएको छ,” उनले भने ।
उनले दलीय मान्यताअनुसार सभामुख अघि बढ्न नसकेको तर्क गरे । भट्टराईले गैरसांसद् राखेर संसद् चलाउने चेष्टा गरिरहेको र यो लोकतन्त्रको मूल्य मान्यता अनुरुप नरहेको तर्क गरे । त्यस्तै, उनले मुलुकमा सरकार भएको महसुस हुन नसकेको बताए ।
भट्टराईले धारणा राखेपछि एमालेका राष्ट्रियसभा सदस्यहरुले उठेर विरोध जनाएका थिए । एमालेका तत्कालीन नेता माधवकुमार नेपालसहित १४ सांसद्लाई कारबाहीका लागि सिफारिस गरिएकामा त्यसको सुनुवाइ नगरेको आरोप लगाएर एमालेले संसद् अवरुद्ध गरेको हो ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाणको तर्फबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सामाजिक सुरक्षा ऐनसम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश २०७८ र तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश २०७८ पेस गरिन् ।
राष्ट्रियसभाको अर्को बैठक आगामी पुस ५ गते सोमबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।