ओलीप्रति व्यङ्ग्य गर्दै नेपालले भने, ‘विचार, सिद्धान्त सकिएछ, पिठ्युँमा टाटु खोपेर सही गर्ने दिन आए’
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अन्य पार्टीको भविष्य पत्तासाफ हुने बताएका छन् । खेलकुद महासंघ (समाजवादी) प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपालले भने,“नेकपा (एकीकृत समाजवादी) पार्टीको भविष्य हुने छ । अन्य पार्टी पत्ता साफ हुने छन् । केही समयपछि राष्ट्रियसभाको चुनाव हुँदै छ, त्यो चुनावमा पाँच दलीय गठबन्धन एक हुन्छ । अनि प्रदेश, स्थानीय तह, प्रतिनिधिसभा सबैमा हामी मिल्छौँ ।”
मिलेर चुनाव लड्ने विषयमा आशंका नगर्न आग्रह गरे । एक्लै चुनाव लड्न हिम्मत नगरेको भनेर हुने गरेका टिप्पणीको जबाफ दिँदै उनले २०७४ सालको चुनाव सम्झिए ।
“२०७४ सालको चुनावमा एमालेले राप्रपा र माओवादीसँग साँठगाँठ गर्न हुने, अहिले हामीले गर्न नहुने के छ ? शक्ति बढाउनका लागि तालमेल गरिन्छ । सरकारमा बस्ने सबैका बीचमा सहमति भइसकेको छ ।
उनले नेकपा (एमाले)मा व्यक्तिवाद हाबी भएको आरोप लगाए । “एमालेमा व्यक्तिवाद, गुटवाद हाबी भयो । ‘बा’ वाद हाबी भयो । विचार स्खलित भयो, त्यहाँ लोकतन्त्र छैन,” उनले भने ।
उनले एमालेमा विचार र सिद्धान्त सकिएपछि टाटु बनाएर अध्यक्षले सही गर्ने दिन आएको बताए ।
“विचार र सिद्धान्त सकियो । अब पिठ्युँमा टाटु खोपेर अध्यक्षले सही गर्ने दिन आए,” उनले भने,“यस्तै भएर एमाले खत्तम भयो भन्ने लाग्यो । विचार र सिद्धान्तमा च्युत भयो, संस्कार पनि सकियो ।”
अध्यक्ष नेपालले एमालेमा कुनै लोकतन्त्र नभएको पनि जिकिर गरेका छन् । उनले एमाले महाधिवेशनलाई ‘कुम्भ मेला’को संज्ञा पनि दिएका छन् ।
“त्यहाँ लोकतन्त्र छैन, छलफल परामर्श हुँदैन । चितवनमा हामीले कुम्भ मेला देख्यौँ । अनि तमासा पनि देख्यौँ । त्यहाँ सामूहिकताको समाप्ति भयो,” उनले भने ।
अध्यक्ष नेपालले सूर्यमा ग्रहण लागिसकेको भन्दै कलमले न्यायको आवाज उठाउने बताए । उनले न्याय र सत्यको बाटोमा अघि बढ्दा खुट्टा कमाउन नहुने बताए ।