काठमाडौँ । न्यायलयको विवाद लम्बिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री दिलेन्द्र बडूलाई बालुवाटार बोलाएका छन् ।
बिहीबार वरिष्ठ अधिवक्ताहरुले कानुनमन्त्रीसँग भेटवार्ता गरेपछि शुक्रबार बिहान देउवाले कानुनमन्त्री बडूलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएका हुन् ।
बिहीबार कानुन मन्त्रालयमा पुगेर वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, हरिहर दाहाल, बारका पूर्वअध्यक्ष प्रम खड्का र महान्यायाधिवक्ता खमबहादुर खातीलगायतले कानुनमन्त्री बडूसँग भेटवार्ता गरेका थिए ।
उनीहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पदच्युत गर्न सरकारले अग्रसरता देखाउनुपर्ने माग राखेका थिए । तर, बडूले अदालतको विषयमा संविधानको दायराभित्र रहेर सरकार अगाडि बढ्ने बताएका थिए ।