माओवादीले पहिचानको मुद्दा छाडेको छैन : प्रचण्ड

87

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नो पार्टीले पहिचानको मुद्दा नछाडेको स्पष्ट पारेका छन् ।

शुक्रबार नेपाल सम्वत् ११४२ का आवसरमा नेवाः मुक्ति मोर्चाले ललितपुमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले संविधानसभामा पहिचानको सम्बन्धमा १२ बुँदे भिन्न मत राखिएको बताएका हुन् ।

“पहिचानको मुद्दा हामीले छाडेको होइन। संविधानमा पहिचानको मुद्दा सम्बोधन नभएकामा हाम्रो विरोध स्थापित गरेका छौँ,” उनले भने । मुलुक र जनतालाई अधिकार सम्पन्न बनाएको देशी विदेशी प्रतिक्रियावादीलाई पटक्कै मन नपरेको उल्लेख गर्दै प्रचण्डले उनीहरु अहिले माओवादीलाई कमजोर बनाउन लागिपरेको बताए ।

“माओवादी कमजोर हुँदा प्रतिक्रियावादीले कसरी टाउको उठाउँदा रहेछन् भन्ने देखियो, परिवर्तन उल्ट्याउन र प्रतिक्रान्ति गर्न खोज्दा रहेछन् । त्यो देखेर हामी झस्क्यौँ र सडकमा पनि गयौँ, जनताको बलमा प्रतिगामी कदमलाई परास्त गर्यौँ,” उनले भने ।

देशलाई समाजवादी मुलुकतर्फ लैजान क्रान्तिकारी पार्टी निर्माणको अभियानमा आफू जुटेको उल्लेख गर्दै उनले आगामी राष्ट्रिय सम्मेलनमार्फत पार्टीलाई क्रान्तिकारी ढंगले अगाडि बढाउने बताए ।

पार्टीले जिम्मेवारी लिएको मन्त्रालयका तर्फबाट जनतालाई राहत दिइएको जानकारी दिँदै जनताका समस्या समाधानका लागि पार्टी प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

Share This:
सम्बन्धित खबर
Loading...