काठमाडौँ । नेकपा (एकीकृत समावादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको दम्भकै कारण एमालेले केन्द्रीय सरकार र प्रदेश सरकारमा आफ्नो पार्टीको हैसियत गुमाउनुपरेको बताएका छन् ।
बिहीबार नेकपा (एकीकृत समाजवादी) मध्यपुरथिमि नगर कमिटीले आयोजना गरेको दीपावली, नेपाल सम्वत् ११४२ र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो टिप्पणी गरेका हुन् ।
उनले नवौँ महाधिवेशनमा ओलीलाई जिताएर साथीहरुले भुल गरेको कारणले नै एमाले पार्टीको दुर्भाग्य सुरु भएको टिप्पणी गरे । एमाले पार्टीले गलत बाटो लिन थालेपछि पार्टीभित्र आफूहरु निशास्सिएर बस्नै नसक्ने अवस्था आएपछि नयाँ पार्टी खोल्न बाध्य भएको उनको भनाइ थियो ।
“दुई तिहाइ बहुमत, सबै प्रदेशमा बनेको वामपन्थी सरकार केपी ओलीले सबै सिध्याइदिए । कस्तो मान्छेलाई नवौँ महाधिवेशनमा हाम्रा साथीहरुले भोट दिएछन् ?” उनले भने ।
उनले एमाले पार्टीमा रहेका असन्तुष्टहरुलाई आफ्नो पार्टीमा फर्किएर आए स्वागत गर्ने बताए । पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले नराम्रो काम गरेमा तत्काल कारबाही गरी मन्त्री पदबाट हटाउने पनि उनले प्रष्ट पारे ।
फरक प्रसंगमा अध्यक्ष नेपालले संघीय संसद्को निर्वाचन संविधानले तोकेकै समयमा हुने बताए । कसैले चाहँदैमा संघीय संसद्को ‘अर्ली इलेक्सन’ नहुने उनको भनाइ छ ।
नेपालले भने,“कसैले भ्रम नपाले हुन्छ । आजै हुन्छ कि, छिट्टै चुनाव हुन्छ कि, छिट्टै चुनाव हुनेवाला छैन । संघीय संसद्को चुनाव समयमै हुने छ । त्यसका निम्ति हामी जसरी प्रत्येक काममा सफल हुँदै हिँडेका छौँ । अगाडि बढेका छौँ । त्यसैगरी निर्वाचनको मैदानमा पनि विभिन्न ठाउँको आँकलन हामीले गरिरहेका छौँ । हामी जित्नेछौँ । बाँकी हामीसँग इर्ष्या गर्नेहरुको हालत खत्तम हुने छ ।”